भोटेकोशीमा खसेको पहिरोले अरनिको राजमार्ग अवरुद्ध

असार २६, २०८२ |कमला पाख्रिन
भोटेकोशीमा खसेको पहिरोले अरनिको राजमार्ग अवरुद्ध

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी इकुमा आज बिहान खसेको पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको छ । भोटेकोशी २ कोदारीस्थित अरनिको राजमार्गमा पर्ने इकुमा आज बिहान ५ बजे पहिरो खस्दा अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको हो ।

इकुमा सडक माथिबाट पहिरो आएको र सडक तलसम्म भासिएको कारण सडक पूर्णरुपमा अबरुद्ध भएको छ । सडक पूर्णरुपमा बन्द भएपछि तातोपानी नाका हुँदै काठमाडौं आउन लागेका मालबाहक कन्टेनर भन्सार क्षेत्रमै रोकिएका छन् । त्यस्तै यात्रुबाहक बस, साना–ठूला सवारीसाधान र एम्बुलेन्स पनि रोकिएका छन् । बुधबार मात्र केरुङ नाकामा रोकिएका पर्यटकहरुलाई कोदारी नाका हुँदै काठमाडौं पठाइएको थियो ।

 चीनतर्फबाट आएको बाढीले केरुङ नाकाको संरचना भत्काइदिएपछि त्यस नाकाबाट नेपाल आउन लागेका पर्यटकहरुलाई सिन्धुपाल्चोकको कोदारी नाकाबाट भित्र्याइएको थियो । तर केरुङ र कोदारी-तातोपानी नाका दुवैतर्फको सडकमा क्षति भएपछि चीनसँगको सडक सम्पर्क विच्छेद भएको छ ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।