भाडा प्रयोजनमा सम्झौता गरी दाङको सहकारीले अर्कैको नामा गर्‍यो बिक्री, जग्गाधनी मुलजिताको उठिबास

असार २५, २०८२ |अमर क्षितिज भण्डारी
भाडा प्रयोजनमा सम्झौता गरी दाङको सहकारीले अर्कैको नामा गर्‍यो बिक्री, जग्गाधनी मुलजिताको उठिबास

दाङ । दाङको एक सहकारीले एकजना एकल महिलाको जग्गा सहकारीका लागि भाडामा लिने प्रयोजनका लागि सम्झौता गरी अर्कैका नाममा बिक्री गरेको पाइएको छ । 

भाडामा लगाएको जग्गा नक्कली कागजात खडा गरी अर्कैका नाममा बिक्री भएपछि घोराहीकी मुलजिता रोका घर न घाटको हुनुभएको छ । मालपोत कार्यालयले गल्ती भएको स्वीकारिसक्दा पनि मुलजिताले आफ्नो जग्गा फिर्ता पाउनुभएको छैन् ।

घोराही उपमहानगरपालिका-१४ की ६६ वर्षकी मुलजिता रोकाको नाममा रहेको जग्गाको लालपुर्जा उहाँसँगै छ तर घोराही ७ सौडियारमा रहेको कित्ता नम्बर ३ क ९२६ नम्बरको १० कठ्ठा आठ धुर जग्गा भने दुईपटक बिक्री भइसकेको छ । 

टीका बुढा अध्यक्ष रहेको जनज्योति पशुपालक कृषक सहकारी संस्थाबाट कृषि प्रयोजनका लागि भन्दै २०७८ असार १६ गते वार्षिक २४ हजार रूपैयाँमा १० वर्षको सम्झौता छ । 

एकल महिला मुलजिताको जग्गा हडप्ने योजनाका साथ भाडा सम्झौता भएको १२ दिन पछि २०७८ असार २८ गते उक्त जग्गा घोराहीकै लक्ष्मण शर्मामा नाममा रजिष्टेष्न पास भएको छ । ६६ वर्षीया पीडित मुलजिताले आफ्नो नामको जग्गा फिताका लागि हारगुहार गरिरहनु भएको छ ।

मुलजिताको नाममा रहेको उक्त जग्गा भाडामा दिएको जग्गाको सम्झौतामा साक्षी बसेका सहकारीका अध्यक्ष घोराही-१५ का रञ्जित भनिने टीका बुढाले नै सम्पुर्ण योजना बनाएर जग्गा हडप्ने खोजेको आरोप पीडित पक्षको छ । 

जग्गाको सक्कली जग्गाधनी प्रमाण पुर्जा मुलजितासँगै छ तर वडा कार्यालयबाट जग्गा बिक्रिका लागि सिफारीस लिनेदेखि मालपोत कार्यालयबाट जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि निकाल्ने सबै प्रकृयाको योजनाकार टिका बुढा नै देखिछन् । मालपोत कार्यलय घोराहीले सबै प्रकृया पुरा गरी जग्गा पास भएको देखिए पनि गल्ती भएको स्वीकार गरेको छ ।

जालसाजी गरी लक्ष्मण शर्माको नाममा पास भएको जग्गा ६ महिना नपुग्दै २०७८ पुष २० गते घोराहीकै पर्शुनारायण श्रेष्ठका नाममा पास भएको मालपोत कार्यालयको रेकर्डमा छ । 

झण्डै १ करोड मुल्य पर्ने जग्गा प्रमुख योजनाकार टीका बुढाले २० लाखको कागजी मूल्यांकन देखाएर उक्त जग्गा किन्दा लक्ष्मण र पर्शुनारायण दुबैले २० लाख रूपैयाँ नै मूल्यांकन गरेर बिक्री गरेको पनि मालपोतको रेकर्डमा छ । भाडामा दिएको सात महिनापछि जग्गा बेचिएको पीडित मुलजिताले थाहा पाउनुभएको हो ।

सहकारीसाग सम्झौता गरेर कृषि फार्म खोल्ने भन्दै भाडामा लिएको मुलजिताको जग्गा बेचेर खाइदिएका रञ्जित भनिने टीका बुढाले सम्झौता गरिएको सहकारीमा पदाधिकारी पनि डमी बनाएर कारोबार गरेको पाइएको छ । 

उक्त सहकारीमा सदस्य भए सहकारीमै जागिर लगाइदिने भन्दै घोराहीमै चिया पसल गरेकी दिपा बुढा र विरू घर्ती मगरलाई घोराहीको ग्लोवल आइएमई र प्रभु बैंकमा खाता खोल्न लगाएर रञ्जितले बिरू र दिपासँग नागरिकताको फोटोकपी र दुबैजनाको बैंक चेक लिएर कारोवार गरिरहेको उनीहरूको भनाइ छ । सामान्य किसिमले आफ्नो दैनिकी चलाएर बसेका ती दुई महिलाको बैंक खाता नै रोक्का भएपछि उनीहरू पनि खंगरङग भएका छन् ।

सहकारीका लागि जग्गा भाडामा दिँदा कागजात दुरूपयोग गरी जग्गा नै अर्कैको नाममा बिक्रि भएपछि न्याएका लागि हारगुहार गर्दे मुलजिताको परिवारले जिल्ला अदालतमा लिखत बदरको माग गर्दे मुद्दा दायर गरेको छ । 

मुख्य योजनाकार भनिएका टीका बुढा रञ्जीतले आफुबाट गल्ती भएको स्वीकार गर्दै घटनालाई बाहिर नल्याउन र जग्गा फिर्ता दिलाउने आस्वासन पिडित परिवारलाई दिइरहेका छन् ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।