सिरहा । सिरहाको गोलबजार नगरपालिका-७ चोहर्वास्थित जनता नमूना माध्यमिक विद्यालयमा अध्ययनरत छात्रामाथि शिक्षकबाटै यौन दुर्व्यवहार हुने गरेको घटना सार्वजनिक भएको छ । विद्यालयका शिक्षक हरि श्रेष्ठले छात्राहरूमाथि यौन दुर्व्यवहार गर्ने गरेको र पटक पटक गुनासो गर्दा पनि सुनुवाइ नभएको भन्दै आक्रोशित अभिभावकहरूले सोमबार विद्यालयमै प्रदर्शन गरेका छन् ।
प्रदर्शनका क्रममा विद्यालयमा ढुंगामुढा समेत भएको छ ।
यौन दुर्व्यवहारमा परेकी कक्षा ५ मा अध्ययनरत १३ वर्षीया दलित समुदायकी छात्राले केही समयअघि विद्यालयकै शिक्षिकासमक्ष गुनासो गरेकी थिइन् । आइतबार सो छात्राकी आमाले प्रधानाध्यापक ब्रम्हदेव सिंहसहित अन्य शिक्षक कर्मचारीहरूलाई पनि घटनाबारे बताएकी थिइन् । यसपछि विद्यालयमा अध्ययनरत थप छात्राहरू शिक्षक श्रेष्ठले आफूहरूमाथि लामो समयदेखि यौन दुर्व्यवहार गर्ने गरेको भन्दै खुल्न थाले । एक छात्राका अनुसार, यसरी यौन दुर्व्यवहारमा पर्नेमा १० जनाभन्दा बढी छन् ।
शिक्षक श्रेष्ठले अश्लील कुरा गर्ने, गोप्य अंगहरू छुने गरेको अर्की एक छात्राले बताइन् । “हामी लाज र डरले त्यति खुल्न सकेनौं”, उनले कान्तिपुरसित भनिन्, “तर, श्रेष्ठ सरको चालचलन ठीक छैन भनेर पटक पटक गुनासो गर्दा पनि केही सुनुवाइ भएन ।”
आरोपित शिक्षक श्रेष्ठ नेकपा एमालेका स्थायी समिति सदस्य एवं सांसद लीलानाथ श्रेष्ठको नातामा मामा पर्छन् । राजनीतिक शक्तिकै आडमा उनीमाथि कारबाही हुन नसकेको अभिभावकको आरोप छ ।
“उनी त्यहाँका सामान्य शिक्षक भए पनि सबैभन्दा शक्तिशाली छन्”, स्थानीय रमेश महतोले भने, “यसैको आडमा उनले जे गरे पनि छुट छ, यो अत्याचार हो, यसको गहिरो अनुसन्धान हुनुपर्छ, शिक्षक श्रेष्ठमाथि कडा कारबाही हुनुपर्छ ।”
अभिभावक तथा विद्यार्थीको प्रदर्शनपछि भने प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । पीडित छात्राहरूको स्वास्थ्य परीक्षणका लागि सिरहास्थित प्रादेशिक अस्पताल ल्याइएको र त्यसका आधारमा कानुनी प्रक्रिया अगाडी बढ्ने प्रहरीले जनाएको छ ।
सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माका अनुसार यौन दुर्व्यवहारमा परेको भनिएकी ४ जना छात्रालाई स्वास्थ्य परीक्षणका पठाइएको छ ।
यस विषयमा विद्यालयका प्रधानाध्यापक सिंह र आरोपित शिक्षक श्रेष्ठसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क भएन ।