नेपालले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने

असार २३, २०८२ |खेल ब्युरो
नेपालले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौं । नेपाली फुटबल टिमले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपाली फुटबल टिमले आगामी भदौमा मैत्रीपूर्ण खेल्ने भएको हो ।

अहिले नेपाली फुटबल टिमले एएफसी एसियन कपको छनोट खेलिरहेको छ । नेपाल छनोटका यसअघिका दुवै खेलमा पराजित भइसकेको छ । नेपालले अब एसियन कप २०२७ तेस्रो चरणको छनोटमा भियतनामसँग खेल्ने तालिका छ । नेपालले असोज २३ गते भियतनामसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

छनोटमा भियतनामसँगको खेलको तयारीका लागि नेपालले भदौ २१ र २४ गते बंगलादेशसँग खेल्न लागेको हो । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार फिफा विन्डोमा हुने दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुनेछन् । नेपाली टिमले लामो समयपछि रंगशालामा खेल्न लागेको हो । यसअघि मलेसियासँग खेल्नुपर्ने घरेलु खेल समेत अवे मैदानमा खेल्नु परेको थियो । 

नेपाल एसियन कप छनोटको समूह 'एफ' मा छ । यो समूहमा नेपालसँगै मलेसिया, लाओस र भियतनाम छन् । समूह चरणका दुई खेल खेलेको नेपालले मलेसिया र लाओससँग हार बेहोरेको हो । नेपाल मलेसियासँग २-० र लाओससँग २-१ ले पराजित भएको थियो ।