
बारा । बाराका धेरैजसो प्रहरी चौकी अहिले पनि चुहिने छाना र जीर्ण भवनभित्र बसेर जनताको सेवा गरिहेका छन् । २४ घण्टा सुरक्षामा खटिने प्रहरी आफैँ असुरक्षित संरचनाभित्र बस्नुपर्ने विडम्बनाले राज्यको प्राथमिकता केमा छ भन्ने गम्भीर प्रश्न उठाएको छ ।
पक्की छतको बिमलाई तल र्झन नदिन बाँसको टेको लगाइएको भवनमा बस्न बाध्य छ बाराको दक्षिण झिटकैया प्रहरीचौकी । यहाँ प्रहरी सहायक निरीक्षकसहित ६ जना प्रहरी नागरिकको सुरक्षामा खटिएका छन् । प्रहरी चौकी मुसहर्वाको अवस्था पनि दयनीय छ । सीमामा अवैध गतिविधि रोक्न वरिष्ठ नायब निरीक्षकसहित १५ जनाको स्थायी दरबन्दी छ । तर सुरक्षा संवेदनशीलताको कारण २२ जना कार्यरत छन् । संवेदनशील क्षेत्रमै नागरिकलाई सुरक्षा दिने प्रहरीहरू असुरक्षित ढंगले छाप्रोमा बसोबास गरिरहेका छन् ।
नागरिकको सुरक्षामा २४सै घण्टा खटिने प्रहरीलाई घामपानी छेक्न न गतिलो छानो छ न त गतिलो भवन । सरकारले उनीहरूको पीडा नदेखेको स्थानीयहरु बताउँछन् ।
बारामा आफ्नो जग्गा र भवन दुवै नभएका १३ वटा प्रहरी यूनिट छन् जहाा प्रहरीहरु छाप्रोमा बसिरहेका छन् । जीर्ण भवन पुनर्निर्माण गर्न फाट्टफुट्ट बजेट आए पनि पर्याप्त नभएकाले भवन निर्माणमा समस्या छ ।
सीमावर्ती क्षेत्रमा सुरक्षाको संवेदनशीलता उच्च रहने हुादा प्रहरी चौकीहरूको सुदृढीकरण अपरिहार्य देखिन्छ । तर राज्यको उपेक्षाले सुरक्षाका जिम्मेवार संस्थाहरू नै संकटमा परेका छन् । तत्कालीन सुधार र दीर्घकालीन रणनीति बिना सीमावर्ती क्षेत्रको शान्ति, सुरक्षामा चुनौती थपिने देखिन्छ ।