ट्रान्समिसन लाइन निर्माणमा निजी क्षेत्रलाई आबद्ध गर्ने गरी सरकार अघि बढेको छ : मन्त्री खड्का

असार २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
ट्रान्समिसन लाइन निर्माणमा निजी क्षेत्रलाई आबद्ध गर्ने गरी सरकार अघि बढेको छ : मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निजी क्षेत्रलाई सँगै लिएर ट्रान्समिसन लाइन बनाउने गरी सरकार अघि बढेको बताउनुभएको छ ।प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले सबै ठाउँमा ट्रान्समिसन लाइनको सुनिश्चितता गरेर सरकार अघि बढिरहेको बताउनुभयो । 

उहाँले सरकारले एक्लै ट्रान्समिसन लाइन बनाउन नसक्ने ठानेर नै सरकारले निजी क्षेत्रलाई पनि ट्रान्समिसन लाइन बनाउने किसिमले आबद्ध गरेर अघि बढेको बताउनुभयो । विद्युत् विधेयक रोक्नुपर्ने कुनै आवश्यकता नरहेको पनि बताउनुभयो ।

मन्त्री खड्काले भन्नुभयो, “अहिले सरकारले एक्लै ट्रान्समिसन लाइन बनाउन सकेन । त्यसैले हामीले प्राइभेट क्षेत्रलाई पनि ट्रान्समिसन लाइन बनाउने किसिमको आबद्ध गरेर अघि बढाइसकेका छौं । अब ट्रान्समिसन लाइनको पनि समस्या हुँदैन । अलग ढंगले व्याख्या भएका कारणले केही द्विविधा सिर्जना भएको हो । त्यो कुरा सम्बोधन भइसकेको छ । विद्युत् विधेयक रोक्नुपर्ने कुनै आवश्यकता छैन । न मन्त्रालय र सरकारको धारणा छ, न समितिको । योभन्दा अघि पनि जलस्रोत विधेयक टुंग्याइहालौं भन्ने गरी अघि बढेका हौं । अहिले पनि नवीकरणीय ऊर्जा र विद्युत् विधयेक हामी कहाँ छ । यसलाई एकै चोटि गरौं । नवीकरणीय ऊर्जामा धेरै छलफल भइसकेकाले यसमा धेरै छलफलको आवश्यक छैन जस्तो लाग्छ ।”


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.