काभ्रे । हाल देशभर मनसुन सक्रिय अवस्थामै रहेकाले कुनै पनि समयमा बाढी, पहिरो जस्ता विपद् सृजना हुन सक्ने देखिएको छ ।
त्यसरी सृजना हुन सक्ने विपद्का कारण सम्भावित जनधनको क्षति न्यूनीकरण गर्न तथा यात्रु सुरक्षाका लागि जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको सुरक्षा बैठकले विशेष निर्णय गरेको छ ।
असार १८ गते बसेको बैठकले विपद् न्यूनीकरणसम्बन्धी निर्णय गर्दै विपि राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक खण्डको कामपेश्वरजंग-भद्रकाली हुँदै सिन्धुलीतर्फ जाने सार्वजनिक तथा निजी सवारी साधनहरू २०८२ असार २२ गते साझ साढे ६ बजेदेखि बिहान ५ बजे सम्मका लागि लागू हुने गरी एक महिनाका लागि पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले उक्त निर्णय कार्यान्वयनका लागि यो सूचना सार्वजनिक गर्दै सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
साथै, गत असोज दोस्रो साता परेको अविरल वर्षाले यसै विपि राजमार्गको काभ्रे खण्डमा करिब १२ किलोमिटर क्षेत्र गम्भीर रूपमा क्षतिग्रस्त भएको थियो । कतै पहिरोले सडक ढाकेको, कतै सडक भासिएको, त कतै सवारी सम्पर्क नै विच्छेद भएको अवस्था अझैसम्म मर्मत नहुँदै पुनः सक्रिय मनसुनका कारण जोखिम अझै बढेको छ ।
यस्तो संवेदनशील अवस्थामा यात्रु सुरक्षाका लागि यो निर्णय आवश्यक भएको प्रशासनको भनाइ छ । सडक सञ्चालनमा रोक एक महिनासम्म कायम रहनेछ भने त्यस अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।