काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि पहल गर्न फ्रान्स जान लागेको बताउनुभएको छ ।
शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने सरकारको एजेण्डा रहेको र पेरिसमा हुने वर्ल्ड हेरिटेज कमिटीको बैठकमा सहभागी हुन आफू त्यसतर्फ जान लागेको बताउनु भयो ।
उहाँले सरकारले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न लामो समयदेखि पहल गरिरहेको बताउनु भयो । २१ वटा देश सम्मिलित कमिटीमा बहुमतले निर्णय गर्नुपर्ने हुन्छ ।
उक्त कमिटीमा एसियाबाट भारत, कतार, जापान, कोरिया लगायतका देश रहेको मन्त्री पाण्डेले बताउनु भयो । तिलौराकोटमा धेरै पुरातात्विक वस्तुहरू फेला परेको, त्यही बेलै औद्योगिकीकरण भएको र आधुनिक शहरमा हुने पूर्वाधार सबै रहेको कुरा वैज्ञानिकहरूले पुष्टि गरेको उहाँले बताउनु भयो ।
वर्ल्ड हेरिटेज कमिटीको बैठक पेरिसमा बस्दैछ ।