हुम्लाको सिमकोट विमानस्थल डम्पिङ साइटमा परिणत

असार १६, २०८२ |जनकबहादुर शाही
हुम्लाको सिमकोट विमानस्थल डम्पिङ साइटमा परिणत

हुम्ला । हुम्ला को सबैभन्दा संवेदनशील क्षेत्र मानिने सिमकोट विमानस्थल बजारको फोहोर बगेर आउँदा अस्तव्यस्त बन्न पुगेको छ । बजार क्षेत्रबाट बगेर आउने फोहोरले पार्किङ क्षेत्रभरि भरिदा उडान सुरक्षादेखि पर्यावरणीय जोखिमसम्म बढेको छ ।

बजारको फोहोरको उचित व्वयस्थापन नहुँदा विमानस्थलको पार्किङ क्षेत्र डम्पिङ साइटमा परिणत भएको छ। यस्तो गम्भीर अवस्था उत्पन्न हुँदासमेत सरोकारवाला निकायहरूले तदारुकता नदेखाएको भन्दै स्थानीय आक्रोशित बनेका छन् । स्थानीय प्रशासन, विमानस्थल कार्यालय, गाउँपालिका तथा सरसफाइ सम्बन्धी निकायहरूले चासो नदिएको उनीहरुको आरोप छ । सिमकोट विमानस्थलको पार्किङमा क्षेत्रमा थुप्रिएको फोहोर र दुर्गन्धले आगमन प्रस्थान गर्ने यात्रुहरू हैरान छन्।

विमानस्थल क्षेत्रलाई सुरक्षित, स्वच्छ र व्यवस्थित बनाउन पटक–पटक माग गरिए पनि सम्बन्धित निकायले सुनुवाइ नगरेको विमानस्थल प्रमुख महेन्द्र सिंहले बताउनुभयो । पार्किङमा बगेर आउने फोहोर व्यवस्थापनका लागि सिमकोट गाउँपालिकालाई पटक–पटक आग्रह गरिए पनि कुनै प्रभावकारी कदम चालिएको छैन ।

यातायातको प्रमुख विकल्पका रूपमा रहेको यो एक मात्र विमानस्थलमा सरसफाइको अवस्था दिनप्रतिदिन बिग्रँदै जाँदा पर्यटन प्रवर्द्धनमा समेत असर पर्न थालेको छ । 


Image

जनकबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका हुम्ला संवाददाता हुन् ।