जनकपुर । जनकपुरधाममा धान रोपाइँ कार्यक्रम सञ्चालन गरी २२औँ राष्ट्रिय धान दिवस मनाइएको छ ।
जनकपुरधामको नेचा पोखरीमा आयोजित मुख्य कार्यक्रम जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहको अगुवाइमा धान दिवस मनाइएको हो ।
कार्यक्रममा मधेस प्रदेश सभा सदस्य रामसरोज यादवसहित स्थानीय जनप्रतिनिधि, किसान र सर्वसाधारणको उपस्थिति रहेको थियो । नगरप्रमुख साहले धानलाई मुलुकको अर्थतन्त्रका लागि आधारभुत बालीको रूपमा चित्रित गर्दै धान उत्पादन वृद्धि र आत्मनिर्भरताका लागि स्थानीय तह सक्रिय रहेको बताउनु भयो ।
साहले कमला सिंचाई आयोजना तत्काल अघि बढाउन संघ सरकारलाई आग्रह गर्दै सिंचाई अभावका कारण उत्पादनमा प्रभाव परेको उल्लेख गर्नुभयो । साथै, धान रोपाइँको समयमा मलको अभाव हुनु चिन्ताको विषय भएको उल्लेख गर्दै संघ-सरकारलाई मल आपूर्ति समयमै सुनिश्चित गर्न उहाँले आग्रह गर्नुभयो ।
धान दिवसको अवसरमा रोपाइँ, खेतमा खेलकुद, परम्परागत गीत-संगीत लगायत कार्यक्रमहरू समेत आयोजना गरिएको उपमहानगरपालिकाले जनाएको छ ।