लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले सडक गुरू योजना निर्माण गरेको छ। १२ जिल्लामा छरिएर रहेका सडक एकीकृत गरी आवश्यकताका आधारमा सडक निर्माण अगाडि बढाउन लुम्बिनी सरकारले सडक गुरू योजना ल्याएको हो ।
लुम्बिनी प्रदेश सरकारले आवश्यकताका आधारमा सडक निर्माण अगाडि बढाउन १२ जिल्लाकै सडक समेटेर गुरूयोजना बनाएको हो । धेरै सडक निर्माण सुरू हुने तर, पूरा नहुने समस्या बढेपछि गुरूयोजनामार्फत निर्माणाधीन सडकहरुको प्राथमिकता निर्धारण गरेको लुम्बिनी सरकारको दाबी छ ।
गुरूयोजनामा प्रदेश सरकारले भूगोल, जनसंङ्ख्या, पर्यटन, सीमा सडक र कृषि सडकलाई प्राथमिकतामा राखिएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामा करिब १० हजार ४ सय ६ किलोमिटर सडक क्षेत्र छ ।
सडकमध्ये ४ हजार ७ सय २५ किलोमिटर क्षेत्र कच्ची छ । ग्राभेल सडक २ हजार २ सय ४१ किलोमिटर छ । १ हजार ९ सय १ किलोमिटर सडक कालोपत्रे छ । लुम्बिनीको ३ सय ७० किलोमिटर क्षेत्रमा सडकको ट्रयाक खोल्न समेत बाँकी छ ।
प्रादेशिक सडक ३ सय ३५ सहित लुम्बिनीमा तीन तहका सरकारबाट निर्माणाधीन करिब ४ हजार सडक छन् । सडक गुरूयोजनामा यी सडक घटाएर २ हजार ५ सय कायम गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारले २०७७ सालमै सडक निर्माण, मर्मत सम्भार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन ल्याएको थियो । तर, सडक गुरूयोजना नबन्दा वर्षेनी सडक संख्या थपिने तर, पूरा नहुने समस्या बढेको थियो ।
गुरूयोजना कार्यान्वयनमा गएपछि सडक निर्माणको काम कसरी अगाडि बढ्छ ? त्यो भने हेर्न बाँकी छ ।