एसईईमा नमूना बन्यो रुपन्देहीको शान्ति नमूना मावि

१८ विद्यार्थीले ल्याए ४ जीपीए
असार १४, २०८२ |भुवन पाण्डे
एसईईमा नमूना बन्यो रुपन्देहीको शान्ति नमूना मावि

भ‌ैरहवा । रुपन्देहीको शान्ति नमूना माध्यमिक विद्यालयले एसईईमा ऐतिहासिक सफलता हात पारेको छ । तिलोत्तमा नगरपालिकामा रहेको यस विद्यालयका १८ जना विद्यार्थीले चार जिपिए ल्याउन सफल भएका छन् । यस उपलब्धिसँगै विद्यालयले संस्थागत विद्यालयहरूलाई समेत पछि पार्दै नेपालकै प्रथम विद्यालयको उपाधि पाएको हो ।

भैरहवाकी शेलिना लामाले चार जिपिए ल्याएर विद्यालयको गौरव बढाउनुभयो । उहाँ दैनिक झण्डै १४ किलोमिटर टाढाबाट विद्यालय आउानुहुन्थ्यो । बिहान ५ बजे घरबाट निस्कने, जाडोमा शीतलहर झेल्दै बस कुर्ने, कहिलेकाहीं सवारी नपाएर कक्षा छुट्ने-यी सबै कठिनाइ उहाँले सहज रुपमा पार गर्नुभयो । शुरुमा आफ्नो नतिजा उहाँलाई विश्वासै लागेन । पटक-पटक विभिन्न माध्यमबाट हेर्दा पनि जबसम्म विद्यालयका शिक्षकले पुष्टि गरेनन् तबसम्म उहाँले पत्याउन सक्नुभएन । तर जब नतिजा पक्का भयो, खुसीको आँसु थामिएन । घरपरिवार, आफन्त र विद्यालय सबै उत्साहित भए ।

शान्ति नमूना मावि, रुपन्देहीबाट चार जिपिए ल्याउने अधिकांश विद्यार्थीको सपना भविष्यमा डाक्टर बन्ने रहेको छ । उनीहरूले मेहनत, आत्मविश्वास र शिक्षक-अभिभावकको साथले यस्तो सफलता पाएको बताएका छन् ।

कुल ६ सय ९ जना विद्यार्थी सहभागी भएको परीक्षामा सबैको नतिजा शत-प्रतिशत आएको छ । विद्यालय प्रशासनका अनुसार, अध्यापनमा बालमनोविज्ञानलाई ध्यान दिइएको छ । शिक्षकहरूले विद्यार्थीको क्षमता, रुचि र मनोभावनालाई बुझेर पढाउने शैली अपनाएकाले पनि राम्रो नतिजा आएको हो । एसईईको उत्कृष्ट नतिजा आएपछि विद्यालयका शिक्षक-शिक्षिकाहरू विद्यार्थीका घरमा पुगेर शुभकामना दिइरहेका छन् । यो अवसरमा मिठा परिकार, माला र फूलसहित घरमै पुगेर विद्यार्थी र अभिभावकसँग खुसी साटिएको छ ।

अहिले विद्यालयमा ६ हजार ३ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयले भविष्यमा पनि यस्तै उपलब्धि दोहोर्याउने लक्ष्यसहित नयाा योजना र रणनीति बनाएको जनाएको छ । यस वर्ष रुपन्देही जिल्लाका विभिन्न ३२ वटा विद्यालयबाट कुल ८७ जना विद्यार्थीले चार जिपिए प्राप्त गरेका छन् । 


Image

भुवन पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका रुपन्देही संवाददाता हुन् ।