काठमाडौं । निकै लामो बहस र छलफलपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कनुभएको छ । राजनीतिबाट अलग भएको झन्डै १० वर्षपछि भण्डारी पुनः एमालेमा फर्किनुभएको हो । पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा र्फकने घोषणाले एमालेभित्र मात्रै नभएर राष्ट्रिय राजनीतिमा नै तरंग ल्याएको छ । एमालेभित्रको एउटा समूहले अब भण्डारीले पार्टीको नेतृत्व लिने दाबी गरिरहेको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वलाई निरन्तरता दिने चाहना व्यक्त गरिरहेका बेला भण्डारीको सक्रियताले एमालेभित्र नयाँ बहस सिर्जना गरेको छ ।
पार्टीको राजनीतिबाट बाहिरिएको झन्डै १० वर्षपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी फेरि नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कनुभएको छ । निरन्तर सात वर्ष राष्ट्रपति भएर बाहिरिएको दुई वर्षपछि भण्डारीले एमालेको सदस्यता नवीकरण गर्दै सक्रिय राजनीतिमा फर्किनुभएको हो । एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादका प्रतिपादक मदन भण्डारीकोको ७४औँ जन्मजयन्त्रीको अवसर पारेर मदन भण्डारी फाउन्डेसनले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले एमालेको राजनीतिमा फर्किएको घोषणा गर्नुभएको हो ।
'फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु । अब म नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत्वाकांक्षा छैन,' उहाँले भन्नुभयो ।
कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको जानकारी मात्र दिनु भएन अब एमालेमै रहेर राजनीतिक यात्रालाई निरन्तरता दिने घोषणा गर्नुभयो । राष्ट्रपति हुनुअघि विद्यार्थी र पार्टी राजनीति हुँदै संसदीय फाँटको जिम्मेवारीमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरिसकेको स्मरण गराउँदै उहाँले अब पार्टीको सवै खालको जिम्मेवारीका लागि तयार भएर फर्किएको संकेत पनि गर्नुभयो ।
मदन भण्डारी फाउन्डेसनले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख अतिथि र पूर्वराष्ट्रपति भण्डारीलाई विशिष्ट अतिथिको रुपमा उपस्थित गराएको थियो । अध्यक्ष ओलीलाई साक्षी राखेर एमालेका फर्किएको घोषणा गर्ने तयारी भण्डारीको थियो । तर प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जानुपर्ने भएकाले अगाडि नै आफ्नो सम्बोधन गर्नुभयो । भण्डारीको राजनीतिमा सक्रिय हुने चर्चा कार्यक्रममा चलिरहेका बेला प्रधानमन्त्री ओलीले एमालेमा कुनै बम पड्कनेवाला नभएको टिप्पणी गर्नुभयो । 'यहाँ मैले एकदम बम पड्काउँछु,विद्या भण्डारीजीले बम पड्काउनुहुन्छ, ड्याङड्याङ डुङडुङ, यहीँबाट एमाले ध्वस्त हुन शुरु गर्छ । यो सपना देखेर बसेका छन् । कुनै बम, बन्दुक, बारुद गोला पड्किनेवाला छैन । आश नगरे हुन्छ । नेकपा एमाले एक छ, एक रहन्छ, एकजुट भएर अघि बढ्छ । आश पनि कस्ता कस्ता आश गरेका होलान् । आश गरेर बसेका छन् । यसो अनलाइनतिर पसेर हेर्दा तपाईं छक्क पर्नुहुन्छ । हामी यस्तो भ्रममा पर्नु हुँदैन, ’ ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले आफ्नो कुरा राखेर बाहिरिन लागेपछि भण्डारीले आफ्ना कुरा पनि सुन्न आग्रह गर्नुभएको थियो । तर ओलीले पूर्वराष्ट्रपति भण्डारी र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले के बोल्नुहुन्छ आफूलाई जानकारी हुने भन्दै कार्यक्रमबाट बाहिरिनुभयो ।
प्रधानमन्त्री तथा अध्यक्ष ओलीको कार्यशैलीलाई लिएर असन्तुष्ट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रपतिबाट बाहिरिएपछि पुनः राजनीतिमा सक्रिय हुन भण्डारीलाई सुविधा रहेको बताउनुभयो ।
पूर्वराष्ट्रपति भण्डारीको पुनरागमनले नेकपा एमालेको राजनीतिमा हलचल ल्याइदिएको छ । भण्डारीलाई आगामी नेतृत्वका रुपमा एमालेका केही नेताले हेरेका छन् । त्यसको तयारीका लागि मदन भण्डारी फाउन्डेसनले तत्कालीन महासचिव मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा वरिष्ठ उपाध्यक्ष पोखरेललाई संयोजक तोकेर अभियान नै सञ्चालन गर्ने तयारी गरेको छ । तर प्रधानमन्त्री ओलीपक्षले भने फाउण्डेशनको अभियान प्रभावित पार्न आगामी भदौमा विधान महाधिवेशन गर्ने र त्यसको ६ महिनाभित्र महाधिवेशन गरेर ओलीलाई तेस्रोपटक अध्यक्षमा निर्वाचित गराउने रणनीति बनाएको छ । यसले् पनि एमालेको आन्तरिक राजनीति अब रोचक मोडमा पुगेको छ ।