संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका १ र २ मा पर्ने धुपु गाउँमा एकघर एक धारा अभियानअन्तर्गत ४ सय घरपरिवारका लागि घर-घरमा धारा निर्माण गरिएको छ । खानेपानीको पहुँच सुनिश्चित गर्न सुरू गरिएको अभियानले धुपुका बासिन्दाको दैनिकी सहज बनेको छ ।
केही वर्ष अघिसम्म संखुवासभा धुपुकी ६० वर्षीया मञ्जु शर्मा खानेपानी लिन झिसमिसेमा आधाघन्टा तल रहेको कुवामा पानी भर्नु जानुहुन्थ्यो । खानेपानी लिएर आउदासम्म बिहानको ७ बजिसकेको हुन्थ्यो ।
केही वर्ष यता धुपूमा खानेपानी सहज उपलब्ध भएपछि यो समस्या हटेको छ । गाउँमा भएको एउटा कुवाबाट ६० परिवारले खानेपानी प्रयोग गर्दा धेरैसमस्या हुँदै आएको अर्का स्थानीय केदार अधिकारीले बताउनु भयो । अहिले उहाँको घरको आगनमै धारा जडान भएको छ ।
नेपाल रेडक्रसले स्थानीय सरकारसाग सहकार्यमा खानेपानी सरसफाई स्वच्छता प्रवर्दन एवं विपत जोखिम न्यूनीकरण परियोजना सञ्चालन गरेको छ । स्वच्छता, स्वास्थ्य र जीवनस्तर उकास्ने उद्देश्यका साथ अगाडि बढाइएको यो कार्यक्रमबाट करीब ७ सय २८ घरधुरीले प्रत्यक्ष लाभ लिएका छन् ।
धुपुका विभिन्न स्थानका ३ वटा मुहानमा ट्यांकी निर्माण गरेर स्थानीयको घरघरमा धारा पुर्याइएको छ । उनीहरूले पानी प्रयोग गरेबापत महसुल समेत बुझाउनु पर्दैन ।
६ वटा विद्यालयमा ट्यांकीसहित ७ सय २६ धारा निर्माणका लागि ३ करोड ८२ लाख ३५ हजार खर्च हुने रेडक्रसले जनाएको छ । रेडक्रसको ५० प्रतिशत, सभापोखरी गाउापालिकाको ३० र समुदायको २० प्रतिशतको लागत साझेदारीमा आयोजना सञ्चालन गरिएको हो ।
लामो समय पानीकै अभावमा समस्या भोग्दै आएका स्थानीयले अब भने घर आागनमै धारा पाएपछि राहत महशुस गरेका छन् ।