रूपन्देही । छाडा गोरूको समस्या अहिले शहर-शहरमा टाउको दुखाइको विषय बनिरहेको छ । तर, वैज्ञानिक प्रविधिको एउटा उपाय अहिले किसानका लागि आशा बनेको छ ।
लिङ्ग छुट्याइएको वीर्य अब किसानकै गोठमा पुग्न थालेको छ । यसले बाछा होइन, बाछी जन्मिन्छन् । यो प्रविधिले कस्तो प्रभाव पारिरहेको छ त ?
१२ वर्षदेखि गाई पाल्दै आउनुभएका रूपन्देही सैनामैना नगरपालिकाका किसान रमेश घिमिरेलाई हरेक साल बाछो जन्मदा चिन्ता हुन्थ्यो । बाछो न बेच्न सकिने, न छोड्न पाइने । तर अहिले त्यो चिन्ता हटेको छ । किनभने अहिले अधिकांश किसानले नगरपालिकाले नि:शुल्क वितरण गरेको लिङ्ग छुट्याइएको वीर्य -(सेक्स्ट सिमन) प्रयोग गर्न थालेका छन् ।
अहिले मुख्य बजार र चोक चोकमा छाडा गाई गोरूको समस्या छ । सेक्स्ट सिमनको प्रयोगले बाच्छी मात्र जन्मिने होइन नश्ल सुधार र दुध उत्पादन समेत बढाउँछ । यसले छाडा पशुको व्यवस्थापन हुने आशा गरिएको छ । यो जर्शी गाईको सेक्स्ट सिमन हो । नश्ल सुधारपछि यसले प्रतिदिन ८ देखि १५ लिटर दुध दिन्छ । त्यसकालागि राम्रो पोषण, सफा र आरामदायक गोठ, समयमै खोप र औषधोपचारमा भने ध्यान दिनुपर्ने प्राविधिकहरूको सुझाव छ ।
रूपन्देहीको सैनामैना नगरपालिका र कञ्चन गाउापालिका तथा कपिलवस्तुको बाणगंगा र बुद्धभूमि नगरपालिकामा यो कार्यक्रम गएको साउनदेखि सुरू भएको हो । अहिलेसम्म एक हजार सात सय ५५ डोज वीर्य वितरण गरिएको छ । सात सय ३८ डोज प्रयोग भइसकेको छ । ब्याएका सबै २३ वटा गाईले बाछी जन्माएका छन् ।
बाछी जन्माउने चाहना, दुध उत्पादन बढाउने सोच, र छाडा गोरू नियन्त्रण गर्ने उपाय सेक्स्ट सिमन प्रविधिमा भेटिएको छ । यदि सरकारले दीर्घकालीन योजना बनायो र किसानले गोठलाई फार्ममा रूपान्तरण गरे-(सेक्स्ट सिमन) प्रविधिले नेपाललाई दुधमा आत्मनिर्भर बनाउने सपना केवल सम्भावना होइन, यथार्थ बन्न सक्छ ।