
बुटबल । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३ अर्ब ३६ करोड १३ लाखको बजेट ल्याएको छ।
बजेटमध्ये चालुतर्फ ४९ प्रतिशत र पूँजीगततर्फ ५१ प्रतिशत छुट्याइएको छ । बुटवलले आन्तरिक श्रोततर्फ आगामी आर्थिक वर्षमा ९५ करोड आय हुने अनुमान पेश गरेको छ। सोमबार उपप्रमुख सावित्रादेवी अर्यालले बजेट प्रस्तुत गर्दै बुटवललाई आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन र कृषिलाई विशेष प्राथमिकता दिएको बताउनुभयो ।
कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई सहभागी गराइ ‘पढाइसँगै रोजगार सिर्जना गरौं, युवालाई देशमै बस्ने परिस्थिति निर्माण गरौं’ भन्ने उदेश्यका साथ ट्राफिक व्यवस्थापनमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई खटाउने कार्यक्रमलाई बुटवलले प्राथमिकता दिएको छ। जसका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै ‘बुटवलको सपना, निजी क्षेत्रसँगको सहकार्यमा बुटवलको समृद्धिको परिकल्पना’ भन्ने मर्मसहित निजी क्षेत्रसँग सहकार्य गरी कार्यक्रम सञ्चालनका लागि १ करोड विनियोजन गर्ने बजेट वक्तव्यमा उल्लेख छ ।
बुटवललाई पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्नका लागि पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्न ५० लाख र बुटवललाई सांस्कृतिक सहर बनाउनका लागि १ करोड १५ लाख रुपैयाँ छुट्याइएको छ। विद्यालयहरुको सुधार र न्यूनतम मापदण्ड पूरा गर्नका लागि ६ करोड, कृषि सुधार कार्यक्रमअन्तरगत ‘बुटवलका किसान हाम्रो सान’ कार्यक्रमका लागि १ करोड, छात्राहरुलाई निशुल्क अध्ययनको व्यवस्था मिलाउने कार्यक्रम ‘छोरी पढाउँ’ कार्यक्रमका लागि ५० लाख, विपन्न वर्गका बालबालिकाको पोशाक र शैक्षिक सुधारका लागि ३० लाख, सामुदायिक विद्यालयमा डिजिटल लर्निङ पोर्टल र कम्प्युटर शिक्षा सुधारका लागि १ करोड, स्थानीय पाठ्यक्रमलाई सुधार गर्ने कार्यका लागि ७० लाख बजेट छुट्याइएको छ।