काठमाडौं । २० जना नेपालीले आफूहरूलाई इजरायल र इरानबाट फर्काउन सरकारलाई आग्रह गरेका छन् ।
इजरायल र इरानबीच युद्ध चर्कँदै जाँदा नेपाल सरकारले त्यहाँ रहेका नेपालीहरूको विवरण संकलन सुरू गरेकोमा ६ सय ३ जनाले आफ्नो विवरण उपलब्ध गराएका छन् ।
ती मध्ये २० जनाले आफूहरू फर्कन चाहेको उल्लेख गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सरकारले एउटा पोर्टल बनाएर इजरायल र इरानमा रहेका नेपालीहरूको बारेमा विवरण संकलन गर्न सुरू गरेको छ।
त्यहाँ रहेका नेपालीको उद्धार र सुरक्षा कसरी गर्ने भन्ने योजना बनाउन आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा, परराष्ट्र, गृह र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका मन्त्री र पदाधिकारीबीच छलफल समेत भएको थियो । परराष्ट्र मन्त्रालयले द्वन्द्वग्रस्त इरान र इजरायलयमा रहेका नेपालीले स्वदेश फर्किन चाहेमा ल्याउने जनाएको छ ।
सरकारले इरान र इजरायलको युद्ध सुरू भएदेखि गम्भीरतापूर्वक नियालिरहेको भन्दै ट्राभल इड्भाइजरी सुरू गर्ने काम पनि गरेको छ । आइतबारदेखि सबैतिरको श्रममा गएका नेपालीले रजिस्टर गर्नसक्ने एप सार्वजनिक गर्ने र भारतीय नागरिक फिर्ता ल्याउँदा नेपालीलाई पनि ल्याउन आग्रह सहित पत्र लेख्ने तयारी पनि सरकारको छ ।
यसैबीच आजै वैदेशिक रोजगार विभागले इजरायलका राजदूतसँग नेपालीहरूको सुरक्षा र उद्धारबारे छलफल गरेको छ । भेटवार्तामा नेपालहरूको सुरक्षा र उद्दारमा आवश्यक परे सहयोग गर्न इजरायललाई आग्रह समेत गरिएको छ ।
इजरायलमा केयर गिभरमा जाने तय भैसकेका नेपालीलाई परिस्थिति सहज हुनासाथ पठाउने र प्रतिक्षा सूचीमा रहेकाहरूको भिसा म्याद सकिएमा थप गर्नेबारे पनि छलफल भएको वैदेशिक रोजगार विभागका प्रवक्ता चन्द्रबहादुर सिवाकोटीले जानकारी दिनुभयो ।