फ्लाई-ओभर उद्घाटन गर्दै ओलीले भन्नुभयो- देशमा बहुआयामिक र चौतर्फी ढंगले विकास गर्दैछौँ

असार ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
फ्लाई-ओभर उद्घाटन गर्दै ओलीले भन्नुभयो- देशमा बहुआयामिक र चौतर्फी ढंगले विकास गर्दैछौँ

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ चक्रपथको कलङ्की-कोटेश्वर खण्डको ग्वार्को फ्लाई-ओभरको शुक्रबार उद्घाटन गर्नुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नवनिर्मित फ्लाइओभरकाे उद्घाटन गर्नुभएको हाे । 

इञ्जिनीयरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपीसी) ढाँचामा रू १७ करोड छ लाख ८८ हजारमा आशिष समानान्तर रेलिगेर जेभीद्वारा निर्माण भएको यो फ्लाइओभर नेपालकै पहिलो हो । 

कुल पाँच सय मिटर अप्रोच सडक रहेको यसमा ३५ मिटर स्पानको ४ लेनकाे पुल निर्माण भएको छ । ग्वार्को चोकको ट्राफिक जामलाई हटाउन २०७८ सालमा यसको निर्माण आरम्भ भएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले यस प्रकारको पहिलो फ्लाई-ओभर निर्माण भई उद्घाटन हुन खुसीको कुरा हो भन्दै अब ग्वार्कोमा सवारी जामको समस्या समाधान भएको बताउनुभयो । उहाँले सरकारले बहुआयामिक र चौतर्फी ढंगले विकास अगाडि बढाएकाले यसमा सबैको साथ रहने विश्वास व्यक्त गर्नुभयो ।

'हामी विकासको बाटोमा लगातार अगाडि बढिरहेका छौँ । हिजो दैलेखमा नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्यास रहेको प्रमाणित भयो । तीन वटा कुवामध्ये एउटा कुवाबाट त्यति ग्यास पैदा हुन्छ । त्यसको उत्खन्नकाे सुरूवात पनि मैले नै गरेको थिएँ । धौवादी फलाम कारखाना सुरू भएपछि नेपालमै फलाम उत्पादन भई देशको अर्थतन्त्रलाई धेरै अगाडि बढाउनेछ ।', प्रधानमन्त्री ओलीले भन्नुभयो, 'यसरी विकास हुँदा विदेश जाने मुद्रा नेपालमै रहन्छ । ठुलो आर्थिक लाभ र स्वदेशमै रोजगारी मिल्नेछ । अरू खनिजको उत्खनन् गर्नेछौँ । कृषिको आधुनिकीकरण गर्नेछौँ । नयाँ उद्योग स्थापना, सामाजिक र प्रशासनिक सुधार गरेर देशलाई अगाडि बढाउनेछौँ । हामीले कुनै पनि हालतमा निराशा र असन्तुष्टि व्यक्त गर्नु हुँदैन । आशा र सम्भावनालाई पहिल्याउँदै जानुपर्छ ।'

सुनकोशी मरिन डाइभर्सन आयोजना र हुलाकी राजमार्गले तराईको मुहार फेर्ने र मेची महाकालीको कायाकल्प गर्ने बताउँदै उहाँले देशले गति लिन चाहेको अवस्थाका रूपमा अगाडि बताउनुभयो । उहाँले मदन भण्डारी राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्ग र अन्य धेरै आयोजनाले गति लिने बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.