इरान-इजरायलमा रहेका नेपाली फर्किन चाहे तुरून्त स्वदेश ल्याइनेछ: परराष्ट्रमन्त्री आरजु राणा

असार ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
इरान-इजरायलमा रहेका नेपाली फर्किन चाहे तुरून्त स्वदेश ल्याइनेछ: परराष्ट्रमन्त्री आरजु राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले द्वन्द्वग्रस्त देशहरू इरान-इजरायलयमा रहेका एक जना पनि नेपालीहरूले स्वदेश फर्किन चाहेको खण्डमा नेपाल ल्याइने बताउनुभएको छ ।

इरान र इजरायलमा सुरू भएको युद्धका बारेमा त्यहाँ रहेका नेपालीहरूलाई कसरी उद्धार गर्ने र उनीहरूको सुरक्षा गर्ने भन्ने योजना बनाउनका लागि सिंहदरबारमा बसेको श्रम,रोजगार तथा सामाजिक सुरक्षा, परराष्ट्र, गृह र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका मन्त्री र पदाधिकारीहरूसँगको छलफल भएको हो । 

छलफलमा युद्धग्रस्त देशहरूबाट नेपाल फर्कन चाहने नेपालीहरूलाई स्वदेश ल्याउन सरकारले काम गरिहरेको उहाँले बताउनु भयो । नेपाल फर्किन चाहना राख्ने र अफ्ठ्यारोमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउन सरकार सक्षम रहेको उहाँले जिकिर गर्नुभयो । 

सरकारले इरान र इजरायलको युद्ध सुरू भएदेखि गम्भीरतापूर्वक नियालिरहेको भन्दै ट्राभल इड्भाइजरी सुरू गर्ने काम पनि गरेको परराष्ट्रमन्त्री राणाले बताउनु भयो । सरकारले एउटा पोर्टल बनाएर इजरायल र इरानमा रहेका नेपालीहरूको बारेमा विवरण संकलन गर्न सुरू गरेको र अहिलेसम्म ६ सय ३ जनाले एपमा आफ्नो विवरण उपलब्ध गराएको उहाँले जानकारी दिनुभयाे । 

जसमध्ये २० जनाले मात्रै फर्किन चाहेको उहाँकाे भनाइ छ । आइतबारदेखि सबैतिर श्रममा जानुभएका साथीहरूलाई रजिस्टर गर्नसक्ने एप सार्वजनिक गर्ने तयारीमा रहेको बताउँदै त्यस एपमा सबैले आफ्नो विवरण उपलब्ध गराउनसक्ने उहाँले बताउनु भयो । 

भारतको परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर भारतीय नागरिक फिर्ता ल्याउँदा नेपालीहरूलाई पनि ल्याउन आग्रह गर्ने उहाँले बताउनु भयो ।

परराष्ट्रमन्त्री डा. राणाले इजरायलमा दुई हजार जना भन्दा बढी नेपाली रहेको पाएको बताउनु भयो । मन्त्री राणाले सरकारले नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका लागि गर्नुपर्ने अवस्थामा सम्भव भएसम्मका सबै उपाय, पहल र प्रवन्ध गर्ने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.