बर्दिया । वर्षा सुरू नहुँदै बर्दियाको बबई र कर्णाली नदी तटीय क्षेत्रका बासिन्दा चिन्तित हुन थालेका छन् ।
हरेक वर्ष बाढी र कटानले वर्षायाममा विस्थापित हुँदै आएका तटीय क्षेत्रका बासिन्दा स्थायी पक्की तटबन्धको माग गरे पनि राज्यले बेवास्ता गरेका कारण आक्रोसित बन्दै गएका छन् ।
गुलरिया नगरपालिका-११ ईन्द्रपुरकी गंगा मल्लाहलाई यस वर्षपनि बाढीको चिन्ता छ । बबई नदीको तटीय क्षेत्रमा आउने बाढीले फेरी सडकमा बास हुने पिरोलो छ । सरकारले स्थायी पक्की तटबन्ध नबनाएसम्म सधाै यस्तो विजोग हुन्छ । कर्णाली तटीय क्षेत्र राजापुर नगरपालिका-१ टिहुनीका बासिन्दा अवस्था पनि उस्तै छ ।
कर्णाली नदी नियन्त्रण व्यवस्था आयोजनाबाट तटबन्धको ठेक्का लिएको ठेकेदार कम्पनीले समयमै काम नगर्दा हरेक वर्षात्को समय यहाँ ठुलो विपत निम्तने गरेको छ । विपतका समयमा हतारहतार आपातकालीन काम गरिने आयोजनाले जनाएको छ । बजेटको अभावले तटबन्धको कामले गति लिन नसकेको आयोजनाको भनाइ छ ।
तटबन्ध निर्माणलाई छिटो काम सकिन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मनसुन प्रतिकार योजना अन्तर्गत पालिकालाई पत्रचार गरिएको छ ।
०७१ साल साउन २८, ०७४ साल साउन २९ र ०७९ साल असोज २९ गते बबई र कर्णाली नदीमा आएको बाढीमा परेर ३८ जनाकाे ज्यान गई सकेको छ । कनिका छरेजस्तो बजेट र ठेकेदार कम्पनीको लापरवाहीले तटबन्धको काम समयमा सम्पन्न नहुँदा बर्दियाबासी वर्षेनी जोखिम मोल्न बाध्य छन् ।