काठमाडौं । नेपाली काँग्रेसका केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरु असार ५ गते बन्द रहने भएका छन् ।
बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले असार ५ गते केन्द्र, प्रदेश र जिल्लाका पार्टी कार्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । महामन्त्री गगनकुमार थापाले असार ४, ५ र ६ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने निर्णय गरेको बताउनु भयो ।
पूर्वउद्योगमन्त्री एवं नेपाली काँग्रेसका नेता ढुण्डिराज शास्त्रीको गत सोमवार उपचारका क्रममा निधन भएको थियो । उहाँको निधनमा शोक मनाउँदै काँग्रेसले असार ५ गते बिहीवारका दिन केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । साथै १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने, १३ औं दिन सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय पनि नेपाली कांग्रेसले गरेको छ ।
दिवंगत शास्त्रीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिएको थियो ।