काठमाडौं । इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न माग गर्दै मानवअधिकार तथा शान्ति समाजले काठमाडौंमा प्रदर्शन गरेको छ ।
समाजले बुधवार काठमाडौँस्थित इजरायली दूतावास र इरानी वाणिज्य दूतावास अगाडि शान्तिको कामना गर्दै प्रदर्शन गरेको हो । मानवअधिकार तथा शान्ति समाजले शुरु गरेको युद्धका विरुद्धको अभियानस्वरूप प्रदर्शन गरिएको हो । समाजका सभापति रेनुका पौडेलले इजरायली दूतावास अगाडी आधा घण्टा र इरानी वाणिज्य दूतावासअगाडि पनि आधा घण्टा प्रदर्शन गरेको बताउनु भयो । उहाँले इजरायल र इरानबीचको युद्ध तत्काल रोकिनुपर्ने आग्रहसहित प्रदर्शन गरिएको बताउनु भयो ।
समाजका संस्थापक सभापति कृष्ण पहाडीले इरानले मानवअधिकारलाई सम्मान गर्नुपर्ने उल्लेख गर्दै इरानले लोकतन्त्रलाई बहाली नगर्दा एक्लो हुनुपरेको बताए । इजरायलले पहिले यो युद्ध शुरु गरेका कारणले इजरायलले शान्तिको लागि पहल गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले युद्ध रोक्न संयुक्त राष्ट्रसंघसहितका शक्तिशाली राष्ट्रहरू निरीह देखिएको आरोप लगाउनु भयो ।
केही दिनयता मध्यपूर्वमा इजरायल र इरानबीचको युद्ध झनै चर्किएको छ । मानव अधिकारकर्मीहरूले युद्ध रोक, शान्ति कायम गर, युद्ध मानवताको अपमान हो लगायतका प्लेकार्ड समेत बोकेका थिए ।