कैदीबन्दीको मृत्यु भएपछि डडेल्धुरामा बजार र राजमार्ग अवरुद्व

असार ४, २०८२ |वरुण पनेरू
कैदीबन्दीको मृत्यु भएपछि डडेल्धुरामा बजार र राजमार्ग अवरुद्व

डडेल्धुरा। कैलाली जिल्ला कारागारमा रहेका कैदीबन्दीको मृत्यु भएपछि डडेल्धुरामा बजार र राजमार्ग अवरुद्व गरिएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिशसिंह पालीको प्रहरीले नै हत्या गरेको आरोप लगाउँदै डडेल्धुरा सदरमुकाममा बजार र राजमार्ग बन्द गरिएको हो । घटनाको अनुसन्धान हुनुपर्ने माग गर्दै बजार र राजमार्ग बन्द गरिएको उद्योग वाणिज्य संघ डडेल्धुराका उपाध्यक्ष दीपक महताले जानकारी दिनुभयो ।

कारगारभित्र प्रहरीले नै कुटपिट गरेर पालीको हत्या गरेको आरोप मृतकका आफन्तको छ । मृतकका दाई जगदीश रावलले भने, ‘कारागारभित्रै यातना दिइएको थियो ।  शरीरभर निलडाम छन्, घटनाको सत्यतथ्य अनुसन्धान हुनुपर्छ ।’ मृतक पाली डडेल्धुराका व्यवसायी पनि हुन् ।

बैंकिङ्ग कसुरमा पालीलाई २९ फागुनमा कैलाली जिल्ला अदालतले १० दिन कैद र दुई लाख जरिवाना तोकेको थियो । सोही सजाय कार्यान्वयन गर्न पालीलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थित तुफानडाँडाबाट पक्राउ गरिएको थियो । पक्राउपछिको दुई दिनमै उनको मृत्यु भएको हो ।

कैलाली प्रहरीले पालीलाई पक्राउ गर्नुअघि कञ्चनपुरको महेन्द्रनगरमा पनि उनलाई दुई घण्टा हिरासतमा राखिएको बताइएको छ । त्यहाँ प्रहरीले उनीबाट रकम असुली गरेको आरोप पनि आफन्तले जनाएका छन् ।


Image

वरुण पनेरू

पनेरू कान्तिपुर टेलिभिजनका डडेल्धुरा संवाददाता हुन् ।