संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस

असार १, २०८२ |कान्तिपुर टीभी संवाददाता
संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस

काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठकमा संघीय निजामति सेवा गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस भएको छ ।

प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले उक्त प्रतिवेदन पेस गर्नुभएको हो । विधेयकमा समितिबाट अवकास उमेर ५८ बाट ६० पुर्‍याउने, कुलिङ पिरियड २ वर्ष राख्ने व्यवस्था गरिएको छ । 

यी दुवै विषयमा विवाद रहँदै आएको भएपनि ती व्यवस्था नहटाइएको सभापति खतिवडाको भनाइ छ । प्रतिवेदन पेस गर्दै सभापति खतिवडाले एक वर्षको अवधिमा २७ वटा उपसमिति र समितिका बैठकहरु सञ्चालन गरिएको जानकारी दिनुभयो । 

उहाँले समितिमा आएका संशोधन प्रस्ताव, संशोधनकर्ता सदस्य र समितिका सदस्यको जिज्ञासामा सरकारको तर्फबाट स्पष्ट पार्ने कार्यसमेत गरिएको जानकारी दिनुभयो । 

विधेयकमा संवैधानिक प्रावधान, मर्म र भावनाअनुरूप आएका संशोधनलाई समितिले छलफल गरी समावेश गर्ने अधिकतम प्रयास गरेको उहाँको भनाइ थियो ।

उहाँले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले जेठ २ गते सर्वसम्मतिले विधेयक पारित गरेको जानकारी दिनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.