अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश बन्द गर्न नागरिकको अपिल

असार १, २०८२ |कान्तिपुर टीभी संवाददाता
अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश बन्द गर्न नागरिकको अपिल

काठमाडौँ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि बढ्दो अंकुश र असहिष्णु प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै नागरिक समूहले राज्यलाई थप सहिष्णु बन्न अपिल गरेका छन्। आज आइतबार एक विज्ञप्ति जारी गर्दै नागरिक समूहले यस्तो अपिल गरेका हुन् ।

वरिष्ठ पत्रकार दिलभूषण पाठकमाथिको व्यवहार र पछिल्लो समयका घटनाले प्रेस स्वतन्त्रता र नागरिक स्वतन्त्रता संकुचित पार्ने खतरा बढेको उनीहरूको भनाइ छ।

अपिलमा संविधानको धारा १७ (२) (क) र १९ तथा नेपालले अंगिकार गरेका अन्तर्राष्ट्रिय सन्धि सम्झौताले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता संरक्षण गर्न आग्रह गरिएको छ।

सार्वजनिक ओहोदामा बसेकाहरूमाथि उठेका प्रश्नमा छानबिन गर्नुपूर्व सायबर अपराधको मुद्दा लगाउने, धरपकड गर्ने र समाचार हटाउन लगाउने जस्ता क्रियाकलापले लोकतन्त्र कमजोर बनाउने अपिलकर्ताहरूले चेतावनी दिएका छन्। 

अपिलकर्ता केदारभक्त माथेमा, भोजराज पोखरेल, बिरेन्द्रप्रसाद मिश्र, विद्याधर मल्लिक, हरि शर्मा, मोहना अन्सारी र चरण प्रसाई रहेका छन्।

यस्तो छ अपिलकर्ता नागरिकले जारी गरेको विज्ञप्ति

अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथिका अंकुश बन्द गर्न नागरिकको अपिल

२०८२ असार ०१ गते

केही समयययता राज्यपक्षबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति देखाउँदै आएको असहिष्णु प्रवृत्ति र पछिल्लो समयमा वरिष्ठ पत्रकार दिलभूषण पाठक लगायत अन्य केही व्यक्तिहरुमाथि भएका व्यवहारप्रतिको समाचारले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकारका अधारभूत मान्यता एवं लोकतन्त्रको आधारशिला हो । संघीय लोकतान्त्रिक गाणतन्त्रात्मक शासन व्यवस्थालाई चलायमान, जवाफदेही तथा परिपक्व बनाउँन पत्रकारीता क्षेत्रको अहं भूमिका रहेको सर्वविदितै छ । यसलाई नेपालको संविधानको धारा १७ (२) (क) र धारा १९ले बिचार र अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकलाई प्रत्याभुत गरेको कुरा थप स्पष्ट गरेको कुरा पनि स्मरण गराउन चाहान्छौं ।

पछिल्लो समयको विकशित घटनाक्रममा सार्वजनिक ओहोदामा बसेका व्यक्ति बारे प्रश्न उठ्दा त्यसको उचित छानविन गर्नुपूर्व नै साईबर अपराधमा मुद्दा लाउँने, धरपकडमा जाने, समाचार नै हटाउन लगाउँने जस्ता देखिएका प्रवृत्तिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मात्र नभएर आमनागरिकको वैयक्तिक स्वतन्त्रताको अभ्यासलाई समेत संकुचित पार्ने, त्रास फैलाउने कार्य हुनुका साथै यसबाट लोकतन्त्रको जगसमेतलाई कमजोर पारी स्वेच्छाचारी शासन शैलीको विकास हुने खतरा बढेको छ ।

नेपालले मानव अधिकारको विश्वब्यापी घोषणपत्र १९४८ को धारा १९ तथा नागरिक तथा राजनैतिक अधिकार १९६६ को धारा १९ प्रति प्रतिबद्धता जनाएतापनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सरकारले विभिन्न वाहानामा अंकुश लगाउँदै आउनुका साथै डर त्रासको वातावरण समेत श्रजना गरेको छ । यसअर्थमा मानव अधिकारका आधारभुत मुल्यमान्यतालाई अक्षुण्ण राख्न तथा लोकतान्त्रिक पद्धतिलाई वास्तविक व्यवहारमा लागु भएको अनुभुति आमनागरिक समेतलाई दिलाउँन राज्य थप सहिष्णु बनोस र त्यस्ता सोच, प्रवृत्ति र कार्य बन्द गर्न हामी हार्दिक अपिल गर्दछौं ।

अपिलकर्ता नागरिकहरु

केदारभक्त माथेमा, भोजराज पोखरेल, विरेन्द्रप्रसाद मिश्र, विद्याधर मल्लिक, हरि शर्मा, मोहना अन्सारी, चरण प्रसाई ।

सवैको तर्फबाट (चरण प्रसाई) ९८५१०४२६८१


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.