पाँचथरको हेंवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा तीन जनाको मृत्यु

असार १, २०८२ |लक्ष्मी गौतम
पाँचथरको हेंवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा तीन जनाको मृत्यु

पाँचथर । मेची राजमार्गस्थित पाँचथरको हेंवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाराको सिमरा उपमहानगरपालिका २२ वर्षीय रुपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय प्रकाश चौधरी रहेको जिल्ला प्रहरी कार्यलय पाँचथरका प्रमुख डिएसपी कौशलकुमार बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बेलिब्रिज खस्दा घाइते तीनै जनालाई पाँचथरबाट रेफर गरेर बिराटनगर नोवल अस्पताल पठाइएको थियो । सोहि अस्पतालका चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका हुन् ।

शनिबार साँझ ६ बजे निर्माणाधीन बेलिब्रिज खसेको थियो । मेची राजमार्ग अन्तरगत पाँचथर खण्डमा रहेको हेंवा खोलाको पक्की पुल पहिलो पटक २०८० असार २ गतेको बाढीले बगाएपछि यहाँ पहिलो पटक बेलिब्रिज बनाइएको थियो । त्यो बेलिब्रिज २०८१ गत असोज १२ गते आएको बाढीले बगाए पछि दोस्रो पटक पुनः बेलिब्रिज हाल्न संघीय सरकारले सडक डिभिजन इलाममार्फत प्रकृया अगाडी बढाएर दोभान सुपर सौगात लाइट बिल्डर्स जेभि नामक निर्माण व्यवसायी कम्पनीसँग सम्झौता गरेर काम गरिरहेको छ । 

पुल बगेपछि अहिले हृयुम पाइपमार्फत डाइभर्सन गरेर यातायात आवागमन गराइदैछ । यद्यपी ठुलो वर्षा भएर खोलो बढ्नासाथ डाइभर्सन छोपिने र बग्ने जोखिम छ ।


Image

लक्ष्मी गौतम

गौतम कान्तिपुर टेलिभिजनका पाँचथरका संवाददाता हुन् ।