
काठमाडौं । बिहीबार चुनाव हुने भएपछि काठमाडौंबाट लामो दूरीका लागि छुट्ने यातायात बुधबार रातिदेखि नै बन्द हुने भएका छन् ।
राति १२ बजेदेखि यातायात बन्द रहेकाले छोटो दूरीबाहेक अन्य स्थानका सवारी साधन भने बन्द भइसकेको यातायात व्यवसायी महासंघले जनाएको छ । निर्वाचनका दिनमा लामो तथा छोटो दूरी मात्रै हैन, निर्वाचन प्रयोजनबाहेक अन्य सवारी साधन बन्द रहने हुने छन् ।
विगतकै जस्तो चुनावका दिन बन्द हुने र चुनावको भोलिपल्टबाट मात्र सवारी साधन सुचारू हुने महासंघको आकलन छ । त्यस्तै बिहीबार बैंक तथा वित्तीय संस्थाका सेवा पनि बन्द रहनेछन् । होलीका बेलामा सरकारी भुक्तानी तथा उम्मेदवारका लागि कारोबार गर्न बैंक खुला भए पनि निर्वाचनका दिनमा भने बन्द रहनेछन् ।
बैंक तथा वित्तीय संस्थाका डिजिटल तथा एटीएम सेवामात्र खुला हुने नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरू पौडेलले जानकारी दिनुभयो । यसैगरी हवाई यात्रा भने आन्तरिक तथा बाह्य दुवै सुचारू रहने नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ । यात्रुको उपलब्धताका आधारमा आन्तरिक उडान हुनेछन् भने पश्चिम एसियाबाहेक सबै स्थानका अन्तर्राष्ट्रिय उडान हुने नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो ।