
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलबीच नगरसभा बोलाउने सहमति भएको छ ।
आन्तरिक विवादले कार्यपालिका बैठकसमेत बस्न नसकिरहेको महानगरमा प्रमुख शाह र उपप्रमुख डंगोलबीच बुधबार एक्ला-एक्लै र तीन जना वडा अध्यक्षसहितको बैठक समेत भएको थियो ।
प्रमुख र उपप्रमुखबीचको भेट अघि वार्ता गर्न गठित ३ सदस्यीय संयन्त्रसँग पनि छलफल भएको थियो । वार्तामा काठमाडौं महानगरपालिका-१७ का अध्यक्ष नविन मानन्धर, वडा नम्बर ३२ का अध्यक्ष नवराज पराजुली र वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोल सहभागी हुनुहुन्थ्यो ।
शाहले सचिवालय सदस्यलाई पनि वार्तामा राख्न गरेको प्रस्ताव उपप्रमुख र संयन्त्र सदस्यले अस्वीकार गरेका थिए । बुधबार दिउँसो १ बजेदेखि ३ बजेसम्म चलेको सामुहिक वार्ताले नगरसभाको मिति तय गर्ने सहमति गरेको वडा नम्बर ३ का अध्यक्ष प्रेम थापाले जानकारी दिनुभयो ।
अध्यक्ष थापाले बुधबारको बैठकपछि सबै समस्याको समाधान हुने अपेक्षा गरिएको बताउनुभयो । वार्ताका क्रममा प्रमुख शाहले आफूलाई कार्यपालिकामा एक्याउन खोजिएको, व्यक्तिगत फोटोहरु सार्वजनिक गरेर चरित्र हत्या गर्न खोजिएको, प्रमुख प्रशासकिय अधिकृत सरोज गुरगाईंलाई बलजफ्ती कार्यालय प्रवेश गराईएको लगायत विषयमा असन्तुष्टि व्यक्त गर्नु भएको स्रोतको दाबी छ ।
वार्तामा प्रमुख शाह र १७ नम्बर वडाका अध्यक्ष नबिन मानन्धरबीच सवाल जवाफ पनि चलेको स्रोतले बताएको छ । प्रमुख प्रशासकीय अधिकृत गुरगाईंको हकमा नीति कार्यक्रम र बजेटपछि संघीय सरकारसँग समन्वय गरेर निर्णयमा पुग्ने पनि सहमति भएको छ ।
काठमाडौं महानगरमा करिब ५ महिनादेखि प्रमुख शाह र उपप्रमुखसहित वडा अध्यक्षबीच विवाद बढ्दै जाँदा कार्यपालिका बैठक नै बस्न सकेको छैन् ।