५ वर्षअघि शिलान्यास भएको बागमती प्रदेश सभाको 'अस्थायी' भवन अझै अधुरै

जेष्ठ २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
५ वर्षअघि शिलान्यास भएको बागमती प्रदेश सभाको 'अस्थायी' भवन अझै अधुरै

काठमाडौं । ५ वर्षअघि शिलान्यास गरिएको बागमती प्रदेश सभाको अस्थायी भवन निर्माण कार्य अझै पूरा हुन सकेको छैन । प्रदेश सभाको दोस्रो कार्यकालको आधा समय बितिसक्दा समेत कानून निर्माण गर्ने थलो प्रदेश सभा भवन नबनेको हो ।

वि.स. २०७४ फागुन १४ गतेको बैठकबाट आफ्नो कार्य सञ्चालन गर्न थालेको प्रदेश सभाले २०७७ मंसिर १० गते मात्रै अस्थायी भवनको शिलान्यास गरेको थियो ।

अर्घाखाँची-सगुन-पारामाउन्ट जेभीले १८ महिनामा काम सक्ने भनेर २०७७ कार्तिक १९ गते ४ करोड ९४ लाख ९ हजार ९ रुपैयाँमा भवन बनाउने ठेक्का पाएको थियो ।

अर्घाखाँची-सगुन-पारामाउण्ट जेभीले ढिलो गरी प्रिफ्याबको संरचना निर्माण गर्‍यो र थप कमका लागि २०८० फागुन २३ गते सिउँडी निर्माण सेवासँग ३ करोड ५३ लाख ६१ हजार ५ सय ८३ रुपैयाँमा शहरी भवन कार्यालयले ठेक्का सम्झौता गरेको थियो ।

हेटौंडा उपमहानगरपालिका-१०, स्थित हाल अस्थायी रुपमा सञ्चालित प्रदेश सभा सचिवालयको जग्गाभित्रै 'प्रि-फ्याब'बाट अस्थायी संरचना निर्माणको काम भर्खरै सकिएर फर्निचर र विद्युतीय उपकरणको काम भइरहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

फर्निचर र विद्युतीय उपकरणको काम गर्न प्रदेश सभा आफैंले ठेक्का लगाएर काम गरेको छ । सिउँडी इन्टरनेशनल प्रालिसँग भवनमा फर्निचर र फर्निसिङ कार्यका लागि २ करोड २४ लाख ७३ हजारमा २०८१ फागुन ४ गते ठेक्का सम्झौता भएको थियो ।

सम्झौताअनुसार फर्निचरको काम ३ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने म्याद थियो । फर्निचर र विद्युतीय उपकरणको काम गत जेठ ४ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेमा निर्माण कम्पनीले ढिलाई गरेको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ता बताउनु हुन्छ ।

प्रदेश सरकारले स्थायी संरचना निर्माण गर्न नसकेपछि २०७७ सालमै अस्थायी प्रयोगका लागि भन्दै यो भवन बनाउन थालिएको थियो । प्रदेश सभाको हालको सभाहल ११० जना प्रदेश सभा सदस्यका लागि साँघुरो छ । साँघुरो सभाहलमा धेरै कुर्सी राखिएकाले प्रदेश सभा सदस्यहरुलाई सहजै हिँडडुल र बस्न पनि कठिनाई छ ।

प्रदेश सभा सचिवालय हाल संघीय सरकार मातहतको तत्कालीन मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा सञ्चालन भइरहेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.