काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलबीच बुधबार १५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको छ ।
बुधबार राष्ट्रिय सभा गृहमा महानगर प्रमुख शाह र उपप्रमुख डंगोलबीच भेटवार्ता हुनुअघि ३ सदस्यीय संयन्त्रले पनि उहाँहरूसँग भेट गरेको थियो । उक्त भेटमा काठमाडौं महानगरपालिका वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धर, वडा ३२ का अध्यक्ष नवराज पराजुली र वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलसहित प्रमुख शाह र उपमेयर डंगोल सहभागी हुनुहुन्थ्यो ।
प्रमुख शाहले आफ्ना सचिवालय सदस्यलाई पनि वार्तामा राख्न प्रस्ताव गर्नुभएको थियो । यद्यपि, उपप्रमुख र संयन्त्र सदस्यले नमानेपछि उहाँहरू पाँच जना मात्र वार्तामा सहभागी हुनुभएको थियो ।
बुधबार दिउँसो १ देखि ३ बजेसम्म चलेको वार्ताले कार्यपालिका बैठकको मिति तय गर्ने सहमति गरेको थियो । काठमाडौं महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रेम थापाले बुधबारको बैठकले ‘आइसब्रेक’ गरेको बताउनुभयो । “अब सबै समस्याको समाधान हुने कुरामा हामी विश्वस्त छौं”, उहाँले भन्नुभयो ।
कार्यपालिकासहित नगरसभाको मिति कार्यपालिकाका सदस्यहरूसँग राय लिएर तय गर्न प्रमुख शाह र उपप्रमुख सहमत हुनुभएको छ ।
वार्तामा प्रमुख शाहले असन्तुष्टि व्यक्त गर्नुभएको पनि स्रोतको दाबी छ । प्रमुख शाहले आफूलाई कार्यपालिकामा एक्ल्याउन खोजिएको, व्यक्तिगत तस्बिर सार्वजनिक गरेर चरित्र हत्या गर्न खोजिएको, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरगाईंलाई बलजफ्ती कार्यालय प्रवेश गराइएको लगायत विषयमा असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।
प्रमुख शाह र १७ नम्बर वडा अध्यक्ष नवीन मानन्धरबीच सवालजवाफ पनि चलेको स्रोतको दाबी छ । शाहले मानन्धरलाई व्यक्तिगत तस्बिर सार्वजनिक गरेकामा कानुनी लडाइँ लड्ने चेतावनी समेत दिनुभएको बताइएको छ ।
जवाफमा उपप्रमुखसहित वार्ता संयन्त्रले प्रमुख शाहलाई पुराना कुरा बिर्सिएर नयाँ ढंगबाट जान सुझाउनुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको हकमा नीति कार्यक्रम र बजेटपछि संघीय सरकारसँग समन्वय गरेर निर्णयमा पुग्ने पनि सहमति भएको स्रोतको दाबी छ ।
काठमाडौं महानगरमा करिब २ महिनादेखि प्रमुख शाह र उपप्रमुख डंगोलसहित वडा अध्यक्षबीच पानी बाराबार थियो । आन्तरिक मतभेदले साढे ५ महिनादेखि कार्यपालिका बैठक बस्न सकेको छैन् ।