संसद्मा भिजिट भिसा विवाद चुलियो, विपक्षीको नाराबाजीबीच बैठक फेरि स्थगित

संसद्लाई प्राणहीन नबनाउन सभामुखको आग्रह
जेष्ठ २८, २०८२ |दीपक आचार्य
संसद्मा भिजिट भिसा विवाद चुलियो, विपक्षीको नाराबाजीबीच बैठक फेरि स्थगित

काठमाडौं । प्रतिनिधि सभामा बुधबार पनि विपक्षी दलहरूले नाराबाजी गरेर बैठक चल्न दिएनन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र मानव तस्करी रोक्नुपर्ने माग गर्दै विपक्षीले नाराबाजी गरेपछि बैठक अबरूद्ध भयो । 

सभामुख देवराज घिमिरेले बैठक चलाउन गरेको प्रयास सफल भएन । बैठक सुरू भएलगत्तै सत्तापक्ष र विपक्षी सांसदबीच होहल्ला नै भयो । त्यसपछि सभामुख घिमिरेले भोलि ३ बजेसम्मका लागि बैठक स्थगित गर्नुभयो । आखिर दलहरू के छलफल हुन्छ र कुरा किन मिल्दैन त ?

प्रतिनिधि सभामा विपक्षी दलहरूले जेठ १३ गतेदेखि गर्दै आएको अवरोध हटाउन बुधबार बिहानैदेखि प्रयास भए । बिहान ११ बजे विपक्षी दलहरूले साँझा धारणा बनाउने भन्दै छलफल गरे । भिजिट भिसा प्रकरणमा विपक्षी दलहरू एकै ठाउँमा रहेको सन्देश दिने तयारी उनीहरूले गरे । त्यही अनुसार सत्तापक्षसँग छलफल गर्ने सहमति भयो ।

दिउँसो १ बजेपछि सभामुख देवराज घिमिरे र कानुनमन्त्री अजयकुमार चौरसियाले प्रमुख चार दल कांग्रेस, एमाले, माओवादी केन्द्र र रास्वपाका प्रमुख सचेतकहरूसँग छलफल गर्नुभयो । तर विपक्षी दलहरू भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठनको मागबाट टसमस भएनन् । कांग्रेस र एमाले विपक्षीका माग सम्बोधन गर्न तयार देखिएनन् । छलफल निष्कर्षविहीन भयो ।

सभामुखसँगको छलफलमा कुनै सहमति जुट्न नसकेपछि २ बज्नु अगाडि फेरि चार दलका नेताहरू छुट्टै छलफलमा जुटे । १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक बस्न ढिलाइ भयो र सूचना निकालेर सवा ३ बजेका लागि सारियो । 

कांग्रेसका महामन्त्री गगन थापा, प्रमुख सचेतक श्यामकुमार घिमिरे, गृहमन्त्री रमेश लेखक, एमालेका मुख्य सचेतक महेश बर्तौला, माओवादी उपमहासचिव वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका कार्यवाहक दल नेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारलगायतबीच भएको छलफलमा पनि कुनै सहमति जुट्न सकेन । 

सवा ३ बजेका लागि सारिएको बैठक झन्डै आधा घन्टापछि सुरू भयो । त्योसँगै प्रतिनिधिसभामा नाराबाजी सुरू भयो । झन्डै १५ मिनेटसम्म होहल्ला र नाराबाजी भयो ।

बैठकपछि सत्तारूढ दलका नेताहरूले बिहीबारको बैठक चल्ने दाबी गरेका छन् । विपक्षी दलहरूले समय मागेकाले अर्को बैठकसम्म कुर्नुपर्ने उनीहरूको भनाइ थियो ।

विपक्षीले समय मागेकाले बिहीबारसम्मका लागि बैठक स्थगित गरिएको सत्तापक्षले दाबी गरेपनि सहज भने देखिएको छैन । विपक्षी दलका नेताहरूले आफूहरूको अडान कायमै रहेको प्रतिक्रिया दिएका छन् ।

भिजिट भिसा प्रकरणलाई लिएर सत्ता र विपक्षी दलहरूको अडानका कारण प्रतिनिधि सभा जेठ १३ गतेदेखि बन्धक बन्दै आएको छ । दलहरूको अडानकै कारण प्रतिनिधिसभामा बजेटमाथिको छलफल र कानुन निर्माणको काममा अवरोध सिर्जना भएको छ ।


Image

दीपक आचार्य

आचार्य कान्तिपुर टेलिभिजनमा राजनीतिक ब्युरोमा कार्यरत छन् ।