काठमाडौं । संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिविरूद्ध परेका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले निर्णय सुनाउन मिति सारेको छ । इजलासले बुधबारनै निर्णय सुनाउने भनेपनि अन्तिम समयमा आएर मिति सारेको हो ।
रिटमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेको संवैधानिक इजलासमा पेसी चढेको थियो । तर न्यायाधीशहरू छलफलमै रहेकाले निर्णय सुनाउने मिति सारिएको हो ।
अब यो मुद्दाको निर्णय असार १८ गते सुनाउने तय भएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईंकेलले जानकारी दिनुभयो । साढे ४ वर्षअगाडिको रिटमा सर्वोच्चले निर्णय सुनाउन लागेको हो ।
अध्यादेशमार्फत् संशोधित कानुनबमोजिम २१ माघ २०७७ मा ३२ र १० असार २०७८ मा २० पदाधिकारी नियुक्ति गरिएको विरूद्ध परेका १५ रिटलाई सुनुवाई गरेर संवैधानिक इजलासले निर्णय सुनाउन लागेको हो ।
पटक-पटक हेर्न नभ्याइनेमा परेर पेसी सर्दै आएकामा संवैधानिक इजलासले गत माघ मसान्तमा सुनुवाई थालेको थियो । यसबीचका पेसीमा बहस सकिएर निर्णय सुनाउने मिति आजका लागि तोकिएको थियो ।
संवैधानिक निकायमा दुवै पटक नियुक्ति गर्ने बेला केपी शर्मा ओली नेतृत्वको सरकारले सिफारिस प्रक्रिया आफू-अनुकूल बनाउन अध्यादेशमार्फत् संवैधानिक परिषद्सम्बन्धि ऐन संशोधन गरेको थियो ।
संवैधानिक परिषद्का कुल ६ सदस्यमध्ये ५ को उपस्थितिले गणपूरक संख्या पुग्ने र गणपूरकमध्ये ४ को निर्णय बहुमत हुने कानुनी व्यवस्थालाई संशोधन गरेर अध्यक्षसहित बहुमत सदस्यको उपस्थिति गणपूरक हुने प्रावधान राखिएको थियो । उपस्थितमध्ये अध्यक्षसहितको बहुमतले सिफारिस गर्न सक्ने व्यवस्था पनि अध्यादेशले गरेको थियो ।
अध्यादेश जारीपछि संवैधानिक परिषद् अध्यक्ष तत्कालीन प्रधानमन्त्री ओली, सदस्यहरू तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्ट्रिय सभाका तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक गरेर संवैधानिक आयोगमा सिफारिस गर्नुभएको थियो ।
तत्कालीन प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा बैठकमा अनुपस्थित हुनुहुन्थ्यो । संवैधानिक परिषद् पदाधिकारी सिफारिस गरेको केही दिनमै तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्नुभएको थियो ।
सिफारिसको ४५ दिनभित्र संसदीय सुनुवाइ नभए नियुक्तिमा बाधा पर्ने छैन भन्ने संसदीय नियमावलीलाई आधार बनाएर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई नियुक्ति दिनुभएको थियो ।
सम्बन्धित समाचार