राजविराज नगरपालिकामा तोडफोड र झडप, लेखापालसहितका कर्मचारी कुटिए

जेष्ठ २७, २०८२ |आरएन विश्वास
राजविराज नगरपालिकामा तोडफोड र झडप, लेखापालसहितका कर्मचारी कुटिए

सप्तरी । आर्थिक अनियमिततासँगै प्रमुख प्रशासकीय अधिकृतको सरुवाको विषय लिएर चर्किएको विवादले राजविराज नगरपालिकामा आज ताेडफाेड भएकाे छ । तोडफोडपछि अझै स्थिति सामान्य हुन सकेको छैन ।

निलम्बित नगरप्रमुख भीमराज यादवले गत आइतबार नगरपालिकामा लगाएको ताला आज मंगलबार बिहान कार्यवाहक नगरप्रमुख इसरत परबिन नेतृत्वको जनप्रतिनिधि समूहले तोडेपछि स्थिति तनावग्रस्त भएको हाे । ताला ताेडिएलगत्तै परबिन समूहले शिक्षा शाखाका प्रमुख भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा हाजिर गराएपछि निलम्बित नगरप्रमुख यादवका समर्थकहरू आन्दोलित बनेका छन् । उनीहरूले नै नगरपालिका भवनमा नाराबाजी गर्दै तोडफोड गरेका हुन् । 

तोडफोडबाट कार्यालय भवनका अधिकांश सिसा फुटाइएको छ भने वारुण यन्त्रका कर्मचारी बस्ने भवनका झ्यालका सिसा समेत फुटेको छ ।

झडपको क्रममा नगरपालिकाका लेखापाल शत्रुधन लाल दास र स्वास्थ्यकर्मी सन्ताेष दासलाई कुटपिट गरिएको थियो । दुवै जनाकाे गजेन्द्रनारायण सिंह अस्पतालमा राजविराजमा उपचार भइरहेको छ । यस्तै फोटो खिचिरहेका तीन जना सर्वसाधारणको मोबाइल खोसेर फुटाइएको छ ।

प्रहरीकै अघि भएको घटनामा कावा नगरप्रमुख परबिन चढ्ने स्करपिओ गाडी समेत तोडफोड गरिएको छ । पछिल्लो तीन घण्टादेखि परबिनसहितका कर्मचारीहरू नगरपालिका कार्यालयमै घेराबन्दीमा छन् । प्रारम्भिक जानकारी अनुसार तोडफोडबाट नगरपालिका कार्यालयमा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ।

यसअघि प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण साहको स्थानमा भोगेन्द्र यादवलाई निमित्तकाे जिम्मेवारी दिने सुरसार गरिएपछि विरोधमा उत्रिएका निलम्बित नगरप्रमुख यादव पक्षधरले कार्यालयमा गत आइतबार ताल्चा लगाएका थिए । यसै विषयमा सोमबार दिनभर जिल्ला प्रशासन कार्यालयमा छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएपछि अवस्था जटिल बनेको हो ।

अहिले नगरपालिकामा आन्दोलन जारी छ भने जिल्ला प्रशासन कार्यालयले समस्या समाधानका लागि सर्वदलीय बैठक आह्वान गरेको छ । स्थिति नियन्त्रणमा लिन नगरपालिकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

गत स्थानीय तहकाे निर्वाचनमा जसपाबाट नगरप्रमुखमा यादव र उपप्रमुखमा परबिन निर्वाचित हुनुभएको थियाे । तर, ठेकेदार पृष्ठभुमिका यादव पुराना एक निर्माण कामकाे भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट संलग्नता पुष्टि भएपछि परबिन कावा मेयर हुनुभएको हाे । तर, आपसी सन्तुलन नमिल्दा पटक पटक राजविराज नगरपालिकामा द्वन्द्व हुँदै आएकाे छ ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।