काभ्रे । बनेपा नगरपालिकाको सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल, नं. १५ गण, काभ्रेले आयोजना गरेको तीनदिने विपद् अनुशिक्षण तालिम तथा विपद् सूचक समापन कार्यक्रम सम्पन्न भएको छ।
तालिमको समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिनुका साथै आगामी दिनमा थप विपद् व्यवस्थापन सम्बन्धि तालिम सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ।
तालिममा महिलासहित १४ वटै वडाबाट ७४ जनाको सहभागिता रहेको थियो। सशस्त्र प्रहरी बलका प्रशिक्षकहरूले विपद् अवधिमा अपनाउनुपर्ने सावधानी र विपद् सूचनाको संकलन तथा व्यवस्थापनबारे प्रशिक्षण दिएका थिए।
समापन समारोहमा बोल्दै सशस्त्र प्रहरी बल नं. ३ गणका बाहिनीपति अञ्जनी कुमार पोखरेलले भन्नुभयाे, 'समयमै सही निर्णय र प्रतिक्रिया गर्न सकेमा शत-प्रतिशतभन्दा बढी क्षति न्यूनीकरण गर्न सकिन्छ। जलवायु परिवर्तनका कारण अब के-कस्तो विपद् आउँछ भन्न नसकिने भएकाले स्थानियवासी सजग रहन जरूरी छ।'
उहाँले विपद् सूचकहरूको प्रयोगले सूचना संकलन, उद्धार कार्य र तदारुक प्रतिक्रिया दिन सहयोग पुग्ने समेत बताउनुभयाे । साथै, आगामी दिनमा थप स्वयंसेवक तालिमहरू सञ्चालन गर्नुपर्ने सुझाव पनि उहाँले दिनुभयो।
कार्यक्रममा बनेपा नगरपालिकाका नगरप्रमुख शान्ती रत्न शाक्यले, 'विपद् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन आगामी वर्षमा थप बजेट विनियोजन गर्दै स्वयंसेवक तालिमको निरन्तरता दिइनेछ,' भनी प्रतिबद्धता जनाउनुभयो।
उहाँले विपद्का सम्भावित जोखिमबाट नगरवासीलाई जोगाउन पालिकाले दीर्घकालीन योजना बनाइरहेको पनि बताउनुभयो। गत असोजमा आएको बाढी र पहिरोका कारण बनेपामा मात्र चार जनाले ज्यान गुमाएका थिए। तर, त्यति ठूलो जनधनको क्षति भएपनि नेपाल सरकारद्वारा बनाइएको विपद्स्त पालिकाको सूचीमा बनेपा नगर समावेश गरिएको थिएन।