
काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअन्तर्गत दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनु हुनेछ ।
सभामुखले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्नुहुनेछ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेस गर्नुहुनेछ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आ.व. २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भगरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । आ.व. २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ ।
त्यस्तै दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा आ.व. २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुनेछ ।