काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ ।
बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुनेछ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेश गर्नुहुनेछ ।
सभामुखले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्नुहुनेछ । राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुनेछ । उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आ.व. २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
आ.व. २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ । त्यस्तै दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । अध्यक्षले संविधान सभा सदस्य एवं पूर्व प्रतिनिधि सभा सदस्य गणेशबहादुर खड्काको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।