ट्रक र विद्युतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु

जेष्ठ २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
ट्रक र विद्युतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका-१ पूर्वपश्चिम राजमार्गमा मालवाहक ट्रक र विद्युतीय गाडी एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

चन्द्रपुर नगरपालिका–१ मंगलपुरस्थित सर्लाहीको बरहथवाबाट चन्द्रपुरतर्फ आउँदै गरेको बागमती प्रदेश-०३-००१ज ०४५२ नम्बरको विद्युतीय गाडी र विपरीत दिशाबाट जाँदै गरेको मधेश प्रदेश-०३-००१ख ८६०० नम्बरको ट्रक एक आपसमा ठोक्किँदा सर्लाही रामनगर–१ खैरवाका भगिया देवी र धिरेन्द्र ठाकुरको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

छाती र हातमा गम्भीर चोट लागेर उपचारको क्रममा भगिया देवीको मृत्यु भएको थियो भने ठाकुरको चन्द्रनिगाहपुरमा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटनामा परेर रानीकुमारी यादव र रौतहटको दुर्गाभगवती गाउँपालिका-५ बडहर्वाका सरोज ठाकुर घाइते भएका छन् ।

मालवाहक ट्रक चालक मकवानपुर हेटौंडा-१३ का ग्यालसेन थोकर र विद्युतीय गाडीका चालक सर्लाही रामनगरका आकाश सिंहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.