सात वर्षअघि नै खारेज भएको सिन्डिकेटसामु मध्यरातमा सरकारले घुँडा टेक्यो

यातायात व्यवसायीसँगको सहमतिले प्रदेश सरकारको अधिकारमा संघको ठाडो हस्तक्षेप
जेष्ठ २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
सात वर्षअघि नै खारेज भएको सिन्डिकेटसामु मध्यरातमा सरकारले घुँडा टेक्यो

काठमाडौं । सरकार र सिन्डिकेट पक्षधर यातायात व्यवसायीबीच राइड सेयरिङ नियमावली स्थगित गर्न गण्डकी सरकारलाई पत्राचार गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नै सात वर्षअघि सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य भएको घोषणा गरेपनि व्यवसायीले फेरि सिन्डिकेट ब्यूँताएर सरकारलाई घुँडा टेकाएका हुन् । प्रदेश सरकारको अधिकारमा ठाडो हस्तक्षेप गर्दै सरकार र यातायात व्यवसायीबीच ६ बुँदे सहमति भएको हो ।

मंगरबार दिनभर सिंहदरबारमा भएको छलफल निष्कर्षविहीन भएको थियो भने राति फेरि वार्ता सुरू भएर मध्यरातमा सहमति जुटेको हो । वार्ताका लागि बनेको कार्यदलले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सहमतिको जानकारी दिने, मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाउने र प्रधानमन्त्री कार्यालयले गण्डकी सरकारलाई स्थगनका लागि पत्राचार गर्ने बताइएको छ ।

सरकारसँग सहमति भएपनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात बन्द भने तत्काल फिर्ता नगर्ने जनाएको छ । महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले गण्डकी सरकारले नियमावली स्थगन गरेपछि मात्रै बन्दका कार्यक्रम फिर्ता लिने बताउनुभएको छ । नियमावली स्थगनको सहमति प्रदेश सरकारसम्म फास्ट ट्रयाकबाट पुर्‍याउने र स्थगन भएको घोषणा भएपछि यातायात सुचारू गरिने उहाँको भनाइ छ ।

गण्डकी प्रदेशले निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चारपांग्रे तथा दुईपांग्रे सवारीले सार्वजनिक सवारीसरह यात्रु ओसार-पसार गर्न सक्ने व्यवस्था गरेकामा यातायात व्यवसायीले प्रदर्शन गर्दै गृह प्रशासनलाई चुनौती दिँदै आएका थिए । 

अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने कानुनी व्यवस्थाविपरीत यातायात व्यवसायीहरू सार्वजनिक यातायात ठप्प पारेर आन्दोलनमा उत्रिँदा सर्वसाधारणले हिजो दिनभर सास्ती खेपेका छन । 

सार्वजनिक यातायात नचल्दाको प्रभाव काठमाडौँ उपत्यकासहित अधिकांश जिल्लामा परेको छ । बाटोमा निजी सवारीसाधन निर्वाध गुडिरहे पनि लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधन चलेका छैनन् । सार्वजनिक यातायात नचल्दा यात्रुहरू हिँडेरै गन्तव्यतर्फ जान बाध्य छन । भारतबाट आएका यात्रु पनि सीमानाकामै अलपत्र छन ।

सार्वजनिक यातायात बचाउ संघर्ष समितिको आह्वानमा यातायात व्यवसायीहरू ७ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।

रातो नम्बर प्लेटका चारपांग्रे तथा दुईपांग्रे सवारीले सार्वजनिक सवारीसरह यात्रु ओसारपसार गर्न सक्ने व्यवस्था गर्न गण्डकी प्रदेश सभाले २०७६ मा जारी गरेको ऐनअनुसार सरकारले अहिले नियमावली ल्याएको छ । उक्त व्यवस्थाविरूद्ध शुक्रबारदेखि गण्डकीमा सार्वजनिक यातायात ठप्प पारेका व्यवसायीले हिजोदेखि देशभर सेवा बन्द गरेका हुन्।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.