मिलेमतोमा पुलको सामान चोरी गरेर बेचेको आरोपमा वडा अध्यक्ष पक्राउ

नमोबुद्ध नगरपालिका-६ का अध्यक्ष टिकाबहादुर केसीको समेत संलग्नता, खोजी कार्य जारी
जेष्ठ २०, २०८२ |पुजन धिताल
मिलेमतोमा पुलको सामान चोरी गरेर बेचेको आरोपमा वडा अध्यक्ष पक्राउ

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नम्बर-७ का वडा अध्यक्ष अशोक गौतम पक्राउ पर्नुभएको छ ।

गत २०८१ साल असोज १० देखि १३ गतेसम्मको अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले बगाएको थानसिङ बेसीस्थित फलामको पुलबाट बाँकी रहेका फलामका सामानहरू कवाडीलाई बिक्री गरेको आरोपमा उहाँलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले पक्राउ गरेको हो ।

प्रहरी अनुसन्धानअनुसार, वडा अध्यक्ष गौतमले कवाडी व्यवसायीमार्फत् पुलको सामान बेचेर आधा-आधा गर्ने गरी छिमेकी नमोबुद्ध नगरपालिका वडा न-६ वडा अध्यक्ष समेत सहमती भएको आरोप छ ।

त्यसै आधारमा प्रहरीले गौतमलाई नियन्त्रणमा लिएको जनाएको छ । यो घटनामा नमोबुद्ध नगरपालिका-६ का अध्यक्ष टिकाबहादुर केसीको समेत संलग्नता देखिएको प्रहरीको भनाइ छ भने उहाँको खोजी कार्य जारी छ ।

दुवै वडाध्यक्षबीच पुलको बाँकी सामान साझेदारी गरी आधा-आधा मूल्य बाँड्ने सम्झौतामा बिक्री गरिएको बताइएको छ । प्रहरीले घटनास्थलबाट लोड गर्न बोलाइएको दुईवटा टिपरसहित व्यवसायी र चालकलाई नियन्त्रणमा लिएको छ ।

कवाडी व्यवसायीहरूले वडा कार्यालयको सिफारिस र वडाध्यक्षहरूलाई बुझाएको भुक्तानीको प्रमाण प्रहरीलाई देखाएका थिए । त्यसकै आधारमा अभियोग दर्ता गरी अनुसन्धान अघि बढाइएको हो ।

सामान लोड गर्दै-गर्दा प्रहरीले मंटु कुमार, भारत बिहार मोतिहारी स्थायी घर, हाल बनेपा नगरपालिका-७, तरकारी बजार, उमेर ३२ वर्षको भारतीय नागरिक तेस्तै सर्लाही मलंगवा नगरपालिका-३ स्थायी घर, हाल बनेपा नगरपालिका-७, उमेर ३९ वर्षको जितेन्द्र पासवान, काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-९, उमेर ४७ वर्ष, टिपर बा ५ ख ४६२६ नम्बर चालकसमेत रहेका मानबहादुर तामाङ, रोशी गाउँपालिका-८, उमेर ४० वर्ष, टिपर बा २ ख ४००१ नम्बर चालक रमेश लामा रहको जानकारी काभ्रे प्रहरीका प्रवक्ता मीन बहादूर घलेले दिनुभएको हो ।

घलेले नमोबुद्ध नगरपालिका-६ का अध्यक्ष टिकाबहादुर केसीको खोजी कार्य समेत जारी रहेको जानकारी दिनुभयो । यता, पालिकातर्फ स्थानियहरूले पुलका सामान कवाडीले लैजान लागेको देखेपछि पालिका अध्यक्ष दिनेश लामालाई खबर गरेका थिए ।

अध्यक्ष लामाले खबर प्राप्त भएपछि पुल लैजान रोक्नका लागि आफैंले प्रहरीलाई खबर गरेको तर प्रहरीले के कारबाही गर्‍यो भन्नेबारे जानकारी नभएको बताउनुभयो ।

'गाउँपालिकाकै कामको सिलसिलामा म अहिले प्रदेश राजधानी हेटौंडामा छु,' अध्यक्ष लामाले भन्नुभयो ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।