निजामती कर्मचारीले दिए सामान्य प्रशासन मन्त्रालयमा धर्ना, माग सम्बाेधन नभए कडा आन्दोलनमा उत्रिने चेतावनी

जेष्ठ १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
निजामती कर्मचारीले दिए सामान्य प्रशासन मन्त्रालयमा धर्ना, माग सम्बाेधन नभए कडा आन्दोलनमा उत्रिने चेतावनी

काठमाडौं । निजामती कर्मचारीका विभिन्न सङ्घ-सङ्गठनले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन ।

राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भइसकेको सङ्घीय निजामती सेवा विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै उनीहरूले मन्त्रालयको मूल ढोकामा सोमवार बिहान १० देखि मध्यान्ह १२ बजेसम्म धर्ना दिएका हुन् । 

ट्रेड युनियन सञ्जालको नेतृत्वमा ११ बुँदे मागसहित उनीहरूले विधेयकमा आपत्ति जनाएका छन । ट्रेड युनियन सञ्जालले राखेका माग सम्बोधनमा राज्य उदासीन देखिएको बताउँदै आन्दोलनमा उत्रिएको नेपाल निजामती कर्मचारी युनियनका कार्यवाहक अध्यक्ष उत्तम कटवालले बताउनु भयो । 

उहाँले कर्मचारीको वृद्धि विकासका मागलाई सम्बोधन गर्नुपर्ने र त्यसले राज्यलाई आर्थिक भार नपर्ने दाबी गर्नुभयो । उहाँले सङ्घ, प्रदेश र स्थानीय तहको परिभाषामा पनि सरकार उदासीन देखिएको बताउँदै प्राविधिक पदमा नासु स्तरको लोकसेवा खोलिनुपर्ने, अतिरिक्त सचिवको कार्यकाल तोक्नुपर्ने लगायतका माग राखेको बताउनु भयो । उहाँले तल्लो स्तरका कर्मचारीलाई राज्यले अपमान गरिरहेको गुनासो समेत गर्नुभयो ।

उहाँले आफूहरुका ११ बुँदे मागलाई राज्यले सम्बोधन नगरे भोलीदेखि कडा आन्दोलनमा उत्रिने चेतावनी दिनुभएको छ । यद्यपि, उक्त विधेयक मङ्गलवारको प्रतिनिधिसभा बैठकमा पेस गर्ने कार्यसूची छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.