यस्तो छ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने पत्रको बेहोरा

जेष्ठ २०, २०८२ |किरण पौडेल
यस्तो छ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने पत्रको बेहोरा

काठमाडौं । काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे ६ महिनाका लागि निलम्बित हुनुभएको छ । पाण्डेलाई जेठ ६ गते प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले स्पष्टीकरण सोध्नभएको थियो ।

गुरागाईंद्वारा प्रेषित निलम्बन पत्रमा गत चैत २१ गतेका दिन महानगरपालिकामा भएको अवाञ्छित र गैरकानुनी हुलहुज्जत र हातपातको घटनामा पाण्डेको प्रत्यक्ष संलग्ना रहेको उल्लेख छ । यस्तै उक्त घटनाबारे ७ बुँदे स्पष्टीकरण सोधिएकोमा चितबुझ्दो जवाफ नआएको बताइएको छ ।

उक्त घटनाको विस्तृत छानबिनका लागि जाँचबुझ समिति गठन गर्ने निर्णय गरिएको समेत निलम्बन पत्रमा उल्लेख छ । साथै जाँचबुझका क्रममा आवश्यक पर्ने सूचना एवं प्रमाण कागज बुझ्ने कार्यमा सहजताका लागि ६ महिनाका लागि पाण्डेलाई निलम्बन गरिएको उल्लेख छ ।

यस्तो छ निलम्बन पत्रको बेहोरा :

प्रस्तुत विषयमा काठमाडौं महानगरपालिका कार्यालय परिसर एवं प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा २०८१ साल चैत्र २१ गतेका दिन घटेको अवाञ्छित एवं गैरकानुनी हुलहुज्जत र हातपातयुक्त घटना तपाईंको प्रत्यक्ष संलग्नता र अगुवाइमा घटेको र सो अभियोगमा तपाईंसँग सात बुँदे स्पष्टीकरण सोधिएकोमा स्पष्टीकरण विश्वासयोग्य र चितबुझ्दो नभएको हुँदा सो घटना सम्बन्धमा विस्तृतले जाँचबुझ गराई सत्यतथ्य पत्ता लगाउन काठमाडौं महानगरपालिका महानगर प्रहरी ऐन, २०८० को दफा ३९ को उपदफा (४) बमोजिम एक जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको छु । सो जाँचबुझ समितिको काममा अनुचित प्रभाव नपरोस् भन्नाका खातिर तथा जाँचबुझका क्रममा आवश्यक पर्ने सूचना एवं प्रमाण कागज बुझ्ने कार्यमा सहजताका लागि ऐ. ऐनको दफा ३९ को उपदफा (५) ले दिएको अधिकार प्रयोग गरी तपाईंलाई आजैका मितिदेखि लागू हुने गरी जाँचबुझ समितिले आवश्यक जाँचबुझ गरी प्रतिवेदन पेश नगरेसम्म बढीमा ६ (छ) महिनाका लागि निलम्बन गरेको छु ।

जाँचबुझ समितिको कार्यमा आवश्यक सहयोग पुर्‍याउनुहुन निर्देशन गर्दछु ।

सरोज गुरागाईं प्रमुख प्रशासकीय अधिकृत


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।