काठमाडौं । यातायात व्यवसायीले आज पनि देशभर सार्वजनिक यातायात बन्द गराए । सरकारसँग सहमति भए पनि कार्यान्वयनमा आउने निश्चित नभएसम्म बन्द फिर्ता नलिने अडान व्यवसायीको छ ।
रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु बोक्न पाउने गरी गण्डकी प्रदेश सरकारले ल्याएको राइड शेयरिङ नियमावली स्थगन गर्न प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्ने सहमति भएपछि यातायात व्यवसायीले पनि देशव्यापी आन्दोलन फिर्ता लिन सहमत भएका थिए । तर गण्डकी प्रदेश सरकारले नियमावली स्थगनको निर्णय नगरिसकेकाले उनीहरूले यातायात सञ्चालनमा नल्याएका हुन् ।
काठमाडौं उपत्यकामा साझा यातायातले भने सबै रूटमा बस चलाएको छ । साझासँगै मयुर यातायात र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले पनि काठमाडौंका सडकमा केही बस सञ्चालन गरेका छन् ।
गए राति अबेरसम्म भएको बैठकमा सरकार र सिन्डिकेट पक्षधर यातायात व्यवसायीबीच राइड शेयरिङ नियमावली स्थगित गर्न गण्डकी सरकारलाई पत्राचार गर्ने सहमति भएको छ । प्रदेश सरकारको अधिकारमा ठाडो हस्तक्षेप गर्दै सरकार र यातायात व्यवसायीबीच ६ बुँदे सहमति भएको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात बन्द भने तत्काल फिर्ता नगर्ने जनाएको छ । महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले गण्डकी सरकारले नियमावली स्थगन गरेपछि मात्रै बन्दका कार्यक्रम फिर्ता लिने बताउनुभएको छ ।
नियमावली स्थगनको सहमति प्रदेश सरकारसम्म फास्ट ट्रयाकबाट पुर्याउने र स्थगन भएको घोषणा भएपछि यातायात सञ्चालन गरिने उहाँको भनाइ छ ।