काभ्रेमा सार्वजनिक यातायात व्यवसायीहरूको आन्दोलन, यात्रुहरू सास्ती भाेग्न बाध्य

जेष्ठ १९, २०८२ |पुजन धिताल
काभ्रेमा सार्वजनिक यातायात व्यवसायीहरूको आन्दोलन, यात्रुहरू सास्ती भाेग्न बाध्य

काभ्रे । सार्वजनिक यातायात व्यवसायीहरूले आह्वान गरेको आन्दोलनका कारण काभ्रेपलाञ्चोक जिल्लामा यातायात सेवा ठप्प हुँदा सर्वसाधारण यात्रु, विद्यार्थी तथा दैनिक यात्रा गर्नेहरू बिहानैदेखि सास्ती भोग्न बाध्य भएका छन।

अरनिको राजमार्ग र विपी राजमार्गमा चल्ने सार्वजनिक सवारी साधनहरू सडकमा ननिस्केपछि बनेपा, धुलिखेल, पनौती, पाँचखाललगायतका क्षेत्रहरूमा यात्रा गर्न कठिन भएको छ। बिहानैदेखि बनेपा बसपार्कमा बसहरू पार्किङमा राखिएको देखिएको छ । यात्रुहरू अन्य विकल्पको खोजीमा अलपत्र परेको दृश्य देख्न सकिन्छ।

विद्यालय जाने विद्यार्थी, अस्पताल जाँदै गरेका बिरामी, तथा कार्यालयतर्फ हिँडेका कर्मचारीहरू सडकमा लामो समयसम्म सवारी साधन कुर्दा पनि केही नपाएर हैरान छन। निजी सवारीहरूको चाप अचानक बढेको देखिएपनि सबैको पहुँचमा निजी सवारी नपुग्दा धेरैले पैदल यात्रा गर्नुपर्ने अवस्था देखिएको छ।

काभ्रेको अरनिको राजमार्ग हुँदै काठमाडौं आउ-जाउ गर्ने दैनिक सयौँ यात्रुहरू अहिले बस पर्खंदै सडक छेउमा ओत लागेर बसिरहेका छन। आन्दोलनको कारणबारे स्पष्ट जानकारी नहुँदा यात्रुहरू अझै अन्योलमा परेका छन।

बनेपाको ताजा अवस्थाले देखाउँछ-सार्वजनिक यातायातको पूर्ण ठप्प अवस्थाले यहाँको जन-जीवनमा प्रत्यक्ष असर परेको छ। यात्रुहरू आक्रोशित छन भने सार्वजनिक यातायात व्यवसायीहरू आफ्ना माग पुरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने अडानमा देखिएका छन।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।