हामी देश छाडेर भाग्दैनौं, शरीरमा एक थोपा रगत भएसम्म देशकै लागि लड्छौं : राधिका शाक्य

जेष्ठ १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
हामी देश छाडेर भाग्दैनौं, शरीरमा एक थोपा रगत भएसम्म देशकै लागि लड्छौं : राधिका शाक्य

भक्तपुर । प्रथम महिला राधिका शाक्यले आफूहरू देश छाडेर नभाग्ने बताउनुभएको छ । मध्यपुर थिमिमा जेसुम यात्रा लोकार्पण कार्यक्रममा उहाँले केही दिन अगाडि राजावादीहरूले हेलिकोप्टरमा भाग्न तयारी रहनु भन्दै दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै शरीरमा एक थोपा रगत भएसम्म देशका लागि लडिरहने बताउनुभएको हो ।

शाक्यले भन्नुभयो, “प्रधानमन्त्री केपी शर्मा ओलीले, हामीले यत्रो वर्ष देशका लागि आफ्नो सम्पूर्ण शक्ति खर्च गरिसकेका छौं । भागेर जान अरू कुनै देशमा सम्पत्ति थुपारेर राखेका छैनौं, हामी भाग्दैनौं, कतै जाँदैनौं पनि, एक थोपा रगत भएसम्म हामी देशका लागि लड्छौं ।”

उहाँले आफले अनुमति पाए आन्दोलनका नाममा सिंहदरबार र बालुवाटार घेर्न आउँछु भन्नेहरुका बीचमा उभिएर धेरै कुरा सोध्न मन लागेको बताउँदै भन्नुभयो, “बालुवाटार घेर्छु भन्नेहरूको अनुहार पनि हामीले देखेका छौं, चिनेका छौं, सारा जनताले देखेको छन्, चिनेका छन् ।”

देशमा प्रजातन्त्र आएपछि र लोकतन्त्र स्थापना भएपछि शिक्षा, स्वास्थ्य, कृषि, सडक लगायतका क्षेत्रमा कति परिवर्तन भए भनेर हेर्न, त्यसबारेमा प्रकाशित पुस्तकहरू पढ्न र मूल्यांकन गरेर मात्रै बोल्न उहाँले आग्रह गर्नुभयो ।

शाक्यले भन्नुभयो, “उहाँले देशमा केही भएन भन्नेहरूले एक पटक देश घुम्नुस्, हेर्नुस्, बुझ्नुस्, सरकार र विभिन्न निकायबाट प्रकाशित विकासका पुस्तकहरू अध्ययन गर्नस्, प्रजातन्त्र स्थापनापछि देशका कति धेरै परिवर्तन भएका छन्, केही भएन भन्ने भाष्य गलत हो ।” 

अझै पनि समय भएकाले आन्दोलन छाडेर सबैले सबैको तहबाट आफूले गर्न सक्ने जति देश र जनताका लागि योगदान गर्न उहाँले आह्वान समेत गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेश सभाका पूर्व सदस्य एवं भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शशिजंग थापाले आफ्नो परिवारबाट लिखित श्रीमद् भागवत पुस्तक प्रथम महिला शाक्यलाई हस्तान्तरण गर्नुभयो भने नम्रता थापाले हालै प्रकाशित शाक्यको पुस्तक करुणाको समीक्षा गर्नुभयो ।

समाज परिवर्तनको संवाहक बन्दै समाजमा सकारात्मक सन्देश फैलाउने मुख्य उद्देश्यले विगत सात वर्षदेखि विभिन्न साहित्यिक यात्रा सञ्चालन गर्दै आएको जेसुमको मध्यपुरथिमिमा भएको यात्राको संस्मरण गर्दै प्रकाशित पुस्तक ‘मध्यपुरथिमिमा जेसुम’ लोकार्पण गरिएको हो ।

समृद्ध मध्यपुर समाज नेपालले प्रकाशन गरेको उक्त पुस्तकको मध्यपुरथिमिस्थित कराते एकेडेमीमा नेपालकी प्रथम महिला राधिका शाक्य, मध्यपुरथिमि नगरपालिकाका पूर्व प्रमुख मदनसुन्दर श्रेष्ठ, जेसुमकी संस्थापक संयोजक एवं बूढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामा लगायत साहित्यकारहरूले संयुक्त रूपमा लोकार्पण गर्नुभएको थियो ।

कार्यक्रममा गत जेठ १ गते जेसुमले मध्यपरथिमिको शंखधर चोकस्थित शंखधरको शालिकबाट सुरु गरी बालकुमारी हुँदै नगदेश बोडेको कुमारी मन्दिरसम्मका ऐतिहासिक सम्पदाहरूको अवलोकनका क्रममा स्रष्टाहरूबाट सिर्जना भएका कविताहरू, सम्पदास्थलमै कोरिएका चित्रहरू लगायतको स्मरणलाई लिपिबद्ध गर्दै प्रकाशित पुस्तक लोकार्पण गरिएको हो ।

लोकार्पण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको जेसुम कवितादेखि विभिन्न स्रष्टाहरू हुँदै मध्यपुरथिमि नगरपालिकाका पूर्वप्रमुख मदनसुन्दर श्रेष्ठसम्मका कविताहरू वाचन भएका थिए ।

पुस्तकमा जेसुमकी संयोजक अनिता लामा, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, साहित्यकार स्नेह सायमी, फूलमान वल, लक्ष्मी माली, शशि लुमुम्बु, अनन्त वाग्ले, घनश्याम खतिवडा, रामगोपाल आशूतोष, नरहरि श्रेष्ठ, अस्मिता मानन्धर, जयन्ती स्पन्दन, रजनी मिला, नविकप्रकाश श्रेष्ठ, उत्तरा नेपाल, रति थापा श्रेष्ठ, वसन्त नकर्मी, कल्पना श्रेष्ठ, तेजकृष्ण श्रेष्ठ र ज्ञानराम श्रेष्ठका कविताहरू प्रकाशित छन् भने कार्यक्रममा प्रकाशित कविताहरू लेखक स्वयंले वाचन गर्नुभएको थियो ।

पुस्तकमा कलाकारहरू दीपेन्द्रमान वनेपाली, सरिता मण्डल, चन्द्रा श्रेष्ठ, झलक केसी, प्रकाश मानन्धर, कान्छाकाजी भासिमा, रुबिन बाडे, मंगल प्रजापति, रतिक श्रेष्ठले मध्यपुरमा जेसुम यात्राका क्रममा कोरेका क्यानभासहरू प्रकाशित छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.