सिरहाका मेयरको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, कारबाहीको माग

जेष्ठ १४, २०८२ |विनय आजाद
सिरहाका मेयरको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, कारबाहीको माग

सिरहा । सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादवको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ, सिरहाले आपत्ति जनाएको छ । मेयर यादवले मंगलबार आफूविरूद्ध लेख्ने पत्रकारले भयानक परिणाम भोग्नुपर्ने भन्दै दिएको अभिव्यक्तिको महासंघले निन्दा गरेको हो ।

महासंघका सिरहा अध्यक्ष मनोज बनैता यादवले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै मेयर यादवको धम्कीपूर्ण अभिव्यक्ति घोर आपत्तिजनक रहेको उल्लेख गर्नुभएकाे छ। समाचार सम्प्रेषण गर्नु सञ्चारकर्मीको पेशागत दायित्व भएको र यसलाई रोक्न खोज्नु प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन भएको विज्ञप्तिमा लेखिएको छ ।

मेयर यादवको यो अभिव्यक्तिले लोकतान्त्रिक मूल्यमान्यताको समेत अपमान गरेको तथा प्रेस स्वतन्त्रतामाथिको यस प्रकारको दमन कुनै हालतमा स्वीकार नगरिने महासंघले जनाएको छ । यस्तै, महासंघले मेयर यादवलाई कानूनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग माग पनि गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले सोमबार नगरपालिकामा आएर योजनासँग सम्बन्धित कागजातहरू नियन्त्रणमा लिएको थियो । तर, नगरपालिकामा अख्तियार आएको कुरा अनर्गल प्रचारबाजी भएको भन्दै मेयर यादवले पत्रकारलाई भारी पर्ने चेतावनी दिनुभएकाे थियाे ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।