प्रक्षेपणभन्दा १५ दिन अगावै भित्रियो मनसुन, कोशी प्रदेशका अधिकांश भूभागमा वर्षा

मनसुनजन्य विपद्‌बाट झन्डै २० लाख नागरिक प्रभावित हुने आकलन
जेष्ठ १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रक्षेपणभन्दा १५ दिन अगावै भित्रियो मनसुन, कोशी प्रदेशका अधिकांश भूभागमा वर्षा

काठमाडौं । नेपालमा यस वर्ष सरदरभन्दा १५ दिन अगावै मनसुन भित्रिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गए रातिदेखि नेपालको पूर्वबाट मनसुन भित्रिएको जनाएको छ । मनसुन कोशी प्रदेशका अधिकांश भूभागमा विस्तार भइसकेको छ ।

महाशाखाले आज बुलेटिन जारी गर्दै कोशी प्रदेशका अधिकांश मौसम केन्द्रहरूमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको जनाएको छ । जुनदेखि सेप्टेम्बरसम्मको अवधिमा मनसुनको अवधि मानिन्छ । सामान्यत नेपालमा जुन १३ तारिखदेखि मनसुन सुरु भएर अक्टोबर २ तारिखमा बाहिरिन्छ । यो अवधिमा नेपालमा वर्षभरि हुने वर्षाको ८० प्रतिशतसम्म वर्षा हुन्छ । यसले बाढी, पहिरो, डुबान र कटानले जनधनको क्षति हुने गरेको छ ।

यस वर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने र क्षति पुग्ने पूर्वानुमान गरिएअनुसार पूर्वतयारीका लागि कार्ययोजना पारित गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले यो वर्ष मनसुनजन्य विपद्‌बाट देशैभरि करिब ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसंख्या प्रभावित हुने आकलन गरेको छ । जसमा कुल जनसंख्याको आधाभन्दा बढी अर्थात् १० लाख २९ हजार जना महिला प्रभावित हुने आकलन गरिएको छ । प्रभावित हुने पुरुषको जनसंख्या ९ लाख ६९ हजार छ ।

प्राधिकरणले सार्वजनिक गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाअनुसार यस वर्षको मनसुनबाट सबैभन्दा बढी लुम्बिनी प्रदेशवासी प्रभावित हुनेछन् । लुम्बिनीका १ लाख १९ हजार ८३० घरधुरीका ५ लाख २३ हजार ६५६ जनसंख्या र सबैभन्दा कम कर्णाली प्रदेशका २९ हजार १३२ घरधुरीका १ लाख २७ हजार ३०८ जनसंख्या प्रभावित हुनेछन् ।

यसैगरी, बागमतीका ७४ हजार ९१४ घरधुरीका ३ लाख २७ हजार ३७६, गण्डकीका ६५ हजार ६९९ घरधुरीका २ लाख ८७ हजार १०७ जना प्रभावित हुने छन् । यसैगरी कोशीका ६३ हजार १२७ घरधुरीका २ लाख ७५ हजार ८६७, मधेशका ५२ हजार ३३१ घरधुरीका २ लाख २८ हजार ६८७ प्रभावित हुने छन् । सुदूरपश्चिमका ५२ हजार ११२ घरधुरीका २ लाख २७ हजार ७३० जना प्रभावित हुने अनुमान छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.