कैलालीमा देशकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुने निश्चित

जेष्ठ ८, २०८२ |टेकराज जोशी
कैलालीमा देशकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुने निश्चित

कैलाली । स्थानीयको लामो संघर्ष र प्रतीक्षापछि कैलालीमा देशकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुने निश्चित भएको छ । विश्वविद्यालय स्थापनाका लागि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक समेत संघीय संसद्‍बाट पारित भइसकेको छ । 

कैलालीको गेटामा अर्बौंको लागतमा संरचना निर्माण गरिए पनि मोडालिटी स्पष्ट नहुँदा यसअघि विश्वविद्यालय स्थापना हुने नहुने अन्योल थियो ।

प्रतिनिधि सभाको आइतबारको बैठकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सर्वसम्मत पारित भएको थियो । यो विधेयकमा स्वास्थ्य विज्ञानको क्षेत्रमा गुणस्तरीय अध्ययन-अध्यापन, अनुसन्धान र नवप्रर्वतन सम्बन्धी कार्य गर्न तथा सर्वसाधारणलाई सहज रूपमा विशेषज्ञसहितको गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न विशिष्टिकृत विश्वविद्यालयको रूपमा स्थापना गरिएको उल्लेख छ । 

राष्ट्रिय सभाबाट गत वर्ष नै पारित भइसकेको विधेयक अब राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएपछि कानुन बन्ने छ । यो विधेयक पारित भएपछि कैलालीसहित सुदूरपश्चिममा खुशियाली छाएको छ । आगामी बजेटमा यसका लागि बजेट व्यवस्था गरेर काम अघि बढाउनुपर्ने माग स्थानीयको छ ।

२०७३ सालमा झन्डै ८ अर्ब ११ करोडको लागत अनुमानमा मेडिकल कलेज निर्माणको काम सुरु भएको थियो । हालसम्म ६ अर्ब ६८ करोड खर्च भइसकेको छ । मेडिकल कलेजका लागि आवश्यक पर्ने अस्पताल, कलेज, प्रशासनिक भवन, छात्रवास, चिकित्सक आवास र क्यान्टिन गरी २८ वटा भवन बनिसकेका छन् । हाल ५० शय्याको अस्थायी दरबन्दी स्वीकृत गरेर सामान्य अस्पताल सञ्चालनमा ल्याइएको छ । अब आवश्यक बजेट विनियोजन गरी पदाधिकारी नियुक्त गर्नुका साथै अस्पतालको बेड क्षमता थप गरी अध्ययन अध्यापन सुरु गर्नुपर्ने छ ।

हाल सुदूरपश्चिममा एउटा पनि मेडिकल कलेज छैन । सुविधासम्पन्न अस्पाताल नहुँदा यहाँका नागरिकलाई जटिल उपचारका लागि काठमाडौं वा भारत जानुपर्ने बाध्यता छ ।


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।