काठमाडौं । मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्समाथि ५९ रनको जित हात पार्दै इन्डियन प्रिमियर लिग-आईपीएलको प्ले अफमा प्रवेश गरेको छ । पुर्व च्याम्पियन शीर्ष चारमा स्थान बनाउने चौथो टिम बनेसँगै प्ले अफ समीकरण पनि पुरा भयो ।
वानखेडे स्टेडियममा दिल्लीका कप्तान फाप डु प्लेसीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिए । नियमित कप्तान अक्सर पटेललाई ज्वरो आएपछि डु प्लेसीले उनको स्थान लिएका थिए ।
मिचेल स्टार्क टिममा नहुनुको घाटा दिल्लीले बेहाेर्यो । मुम्बईले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ८० रनको योगफल बनाएको थियो । एक समय घरेलु टिम १४ ओभर पाँच बलमा चार विकेट गुमाएर १ सय १३ रनको स्थितीमा थियो । तर, सुर्यकुमार यादवले आक्रमक इनिङस खेले ।
रोहित शर्मा ५, विल ज्याक २१ र रायन रिकल्टन २५ रनमा आउट भए । तिलक बर्मा २७ र कप्तान हार्दिक पान्ड्या ३ रनमा मैदान बाहिरिएका थिए । तर, सुर्यकुमारले ४३ बलमा अविजीत ७३ रनको योगदान गरे ।
नमन धिरले ८ वलमा २४ रन बनाएर साथ दिए । दिल्लीका मुकेश कुमार र दुश्मान्था चामिराले अन्तिम दुई ओभरमा ४८ रन खर्चिए । मुकेश कुमारले दुई विकेट लिएका थिए ।
जवाफमा दिल्ली १८ ओभर दुई बलमा १ सय २१ रनमा अल आउट भयो । उसका कुनैपनि ब्याटर बीच लामो साझेदारी हुन सकेन् । डु प्लेसीलाई दिपक चाहरले ६ र के एल राहुललाइ ट्रेन्ट बोल्टले ११ रनमा आउट गरेपछि दवावमा आएको दिल्ली सम्हालिन सकेन् ।
अभिषेक पोरेल ६ रनमा विल ज्याकको बलमा आउट भए । विपराज निगमले २०, समिर रिज्भीले सर्वाधिक ३६ र आशुतोष शर्माले १८ रन बनाएका थिए । मिचेल स्यान्टनर र जस्प्रित बुमराहले ३-३ विकेट लिए ।
चारमा चार खेल जित्दै उत्कृष्ट सुरूवात गरेको दिल्लीको अपराजित यात्रामा मुम्बईले नै ब्रेक लगाइदिएको थियो । खराब सुरूवात गरेको मुम्बईले पहिलो लेगमा दिल्लीलाई हराएपछिनै उत्कृष्ट पुनरागमन गरेको हो ।
मुम्बईसँगै आरसिबी, पञ्जाब र गुजरात प्ले अफ पुगेका छन । आईपीएलमा आज शीर्ष दुइको दौडमा रहेको गुजरातले लखनऊसँग खेल्दैछ ।