भक्तपुरको काँक्राबारीमा जग्गा प्लटिङ गर्दा कुलो, सार्वजनिक जग्गा र सामुदायिक वन अतिक्रमण भएको पुष्टि

जेष्ठ ६, २०८२ |सुन्दर शिल्पकार
भक्तपुरको काँक्राबारीमा जग्गा प्लटिङ गर्दा कुलो, सार्वजनिक जग्गा र सामुदायिक वन अतिक्रमण भएको पुष्टि

भक्तपुर । सूर्यविनायक नगरपालिका-९, काँक्राबारीमा निक भुजिकिक हाउजिङ प्रालिले जग्गा प्लटिङ गर्दा कुलो, सार्वजनिक जग्गा र सामुदायिक वन अतिक्रमण गरेको पाइएको छ ।

प्लटिङ क्षेत्रमा नापी कार्यालय र डिभिजन वन कार्यालय भक्तपुरले गरेको स्थलगत अवलोकन एवम् नाप जाँचको प्रतिवेदन अनुसार उक्त अवैध प्लटिङले सरकारी ६-रोपनी ७ आना जग्गा र २२ रोपनी ५ आना क्षेत्रफलको सामुदायिक वन अतिक्रमण गरेको पाइएको हो ।

निक भुजिकिकले प्लटिङ गर्दा सम्बन्धित निकायबाट कानुनी स्वीकृतिबिना नै सरकारी वन तथा सार्वजनिक जग्गा समेतमा डोजरसमेत लगाएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताउनुभयो ।

जग्गा प्लटिङ गर्दा अतिक्रमण गरेको भन्ने स्थानीयको गुनासोको आधारमा प्रजिअ अर्यालको नेतृत्वमा सुरक्षा निकायका प्रमुख र जिल्लास्थित डिभिजन वन कार्यालयका प्रतिनिधिका साथै नापी कार्यालय भक्तपुर, उपत्यका विकास प्राधिकरण काठमाडौं र सूर्य विनायक नगरपालिकाका प्रतिनिधिको संयुक्त टोलीले गत वैशाख २१ गते उक्त प्लटिङको स्थलगत निरीक्षण गरेको थियो ।

सोही क्रममा प्रजिअ अर्यालले तत्कालका लागि प्लटिङ स्थगित गर्न निर्देशन दिँदै बिनास्वीकृति जग्गा प्लटिङ गरेको र वन तथा सार्वजनिक जग्गा अतिक्रमण गरेको विषयमा तथ्यगत विवरण उपलब्ध गराउन निर्देशन दिनुभएको थियो ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।