हिमताल दबिएर आएको बाढीले हुम्लाका १८ घरपरिवार ५ दिनदेखि विस्थापित, सरकार अझै पुगेन

जेष्ठ ५, २०८२ |जनकबहादुर शाही|विकास आचार्य
हिमताल दबिएर आएको बाढीले हुम्लाका १८ घरपरिवार ५ दिनदेखि विस्थापित, सरकार अझै पुगेन

काठमाडौं । हुम्लाको लिमीस्थित तिलगाउँमा १८ घरपरिवार विस्थापित हुने गरी बाढी र पहिरो आएको ५ दिन भयो । सगरमाथा संवाद उद्घाटनको दिन बाढी पहिरो आए पनि सरकार अहिलेसम्म घटनास्थलसम्म पुग्न सकेको छैन । जसका कारण बाढी र पहिरो के कारणले आयो पत्ता लागेको छैन् । बिनावर्षा आएको बाढी हिमताल दबिनुका कारण आएको शंका छ ।

तर, कस्तो, कत्रो हिमताल दबियो र जोखिम कति छ थाहा हुन सकेको छैन । तिलगाउँ घटनाको ५ दिनसम्म पनि प्राविधिक टोली घटनास्थल नपुग्नु र घटनाको कारण पत्ता लाग्न नसक्नुले स्थानीय त्रासमै बस्न बाध्य छन् ।

हुम्लाको नाम्खा गाउँपालिका-६ को तिलगाउँ र कञ्जुम गुम्बाको बीच भएर बग्ने खोलामा पानी नै नपरी राति एक्कासि बाढी आयो । बाढी मात्र आएन, बस्ती नजिक पहिरो पनि गयो । गाउँ नै बग्ने जोखिममा परेपछि गाउँलेहरू घर छाडेर निस्किए । उनीहरू ५ दिनदेखि नजिकको विद्यालय र टेन्टमा बसेका छन् । उता घर पनि बिस्तारैबिस्तारै पहिरोमा पर्न थालेको छ । 

घटना गएको जेठ १ गते बिहीबार रातिको हो । माथिबाट आएको बाढी र त्यसपछिको पहिरोले १८ घरपरिवारका ३२ जना विस्थापित भएका छन् । केही स्थानीयवासीले खोला पछ्याउँदै जाँदा झन्डै ५३ सय ५० मिटरको उचाइ अर्थात् सगरमाथा आधार शिविरकै उचाइमा ताल भासिएको पत्ता लगाए ।

हिमताल संरक्षणका काम गरिरहेको संस्था इसिमोडले सेटेलाइटबाट गरेको अध्ययनले ताल दबिएको प्रारम्भिक निष्कर्ष गृहमन्त्री रमेश लेखकलाई रिपोर्टिङ गरेको छ । हिमताल विस्फोट भने नभएको इसिमोडको भनाइ छ ।

घटनाको यकिन कारण र विवरण पत्ता लागेको छैन । १ गतेका दिन हुम्लाको तापक्रम २२ डिग्रीसम्म पुगेको थियो । औसतमा १४ डिग्री आसपास रहनुपर्ने तापक्रम २२ डिग्री सेल्सियससम्म बढेका कारण ताल दबिएको हुन सक्ने विपद् प्राधिकरणको अनुमान छ ।

बाढी र पहिरोले स्थानीय विद्यालयमा क्षति पुर्‍याउनुका साथसाथै जलविद्युत् आयोजना बगाएको छ । २ मिटरसम्म कटान भइसकेको हुँदा पहिरोले घरहरू पूर्ण रूपमा क्षति पुर्‍याउने स्थानीयको दुखेको छ ।

सरकारले घटनाको अध्ययन गर्न निर्देशन दिएर बसेको छ । जबकि स्थानीयले घटना भएको स्थान हेरेर फर्किसक्दा पनि सरकारले प्राविधिक टोलीसम्म पठाउन सकेको छैन । न त उद्धार र राहतका सामग्री नै ।


Image

जनकबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका हुम्ला संवाददाता हुन् ।

Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।